बजेटको प्रतिरक्षामा अर्थमन्त्री

‘सांसदको हातमा सोझै पैसा जाँदैन, विद्युतीय गाडीलाई निरुत्साहित गरेको छैन’

बुधबार, १७ जेठ, २०८०
डिजिटल संस्करण

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत प्रत्येक निर्वाचन क्षेत्रका लागि छुट्याइएको रकम सांसद विकास कार्यक्रमबाट नभई संसदीय क्षेत्र विकास कार्यक्रमका लागि भएको बताएका छन् । डा. महत आबद्ध नेपाली कांग्रेसको घोषणापत्रमै सांसद विकास कार्यक्रम खारेज गर्ने उल्लेख हुँदाहुँदै पनि मिल्दोजुल्दो कार्यक्रम ल्याएको भन्दै चौतर्फी आलोचना भएपछि उनले पत्रकार सम्मेलनमा आफ्नो बचाउ गरेका छन् ।

विगतमा जसरी सांसदको हातमा सोझै पैसा पठाउने उद्देश्य नरहेको उनले स्पष्ट पारे । उनले भने, ‘यो सांसद विकास कोष होइन, संसदीय क्षेत्र विकास कार्यक्रम हो । यसलाई पहिलाको हिसाबले हेरिरहनुभएको होला, त्यो होइन । पहिला सांसदले सीधै पैसा पाउने व्यवस्था थियो । अब त्यस्तो हुँदैन ।’ 

सोमबार प्रस्तुत गरेका आगामी आर्थिक वर्षको बजेटका विषयमा उठेका सवालहरूको प्रतिरक्षा गर्दै उनले बजेटका बुँदा र करका दरका विषयमा उठेका प्रश्नको जवाफ दिएका हुन् । उनले भने, ‘देशभर एक सय ६५ निर्वाचन क्षेत्र छन् । हाम्रो बजेटमा विदेशी सहायता निश्चित क्षेत्रमा खर्च हुन्छ । अरू कार्यक्रममा पनि प्रतिबद्ध खर्च हुन्छन् । एक सय ६५ ठाउँमै केही न केही जाओस् भन्ने लक्ष्यसहित यो कार्यक्रम राखिएको हो । सांसदहरूको भूमिका मात्र सिफारिस गर्ने हो । जनताबाट निर्वाचित प्रतिनिधिहरूले सिफारिस पनि गर्नुहुँदैन भन्ने त हुँदैन । सिफारिस गर्नु पनि अपराध हो भनेर हेर्नुभएन ।’ 

पाँच करोडमा न्यूनतम एक करोडका आयोजनाहरू स्वतः ठेक्का प्रक्रियामा जाने भएकाले यसमा हालीमुहालीको सम्भावना कम रहेको उनको भनाइ छ । उनले भने, ‘पहिलाजस्तो आफैँ उपभोक्ता समिति बनाएर बाँड्ने होइन । सांसदहरूको भूमिका सिफारिस गर्ने मात्रै हो । उहाँहरूलाई बढी थाहा हुन्छ, आफ्नो निर्वाचन क्षेत्रमा कस्तो कार्यक्रम आवश्यक हुन्छ । यसलाई व्यक्तिगत पैसा दिएजसरी बुझ्नुभएन ।’

 विद्युतीय सवारीलाई प्रोत्साहन गरेको दाबी
विद्युतीय सवारीसाधनमा ‘कर बढाइयो, निरुत्साहित गरियो’ भन्ने विषयमा कुनै सत्यता नरहेको अर्थमन्त्री महतको भनाइ छ । उनले पेट्रोलियम पदार्थमा आधारित सवारीसाधनको तुलनामा यो कर नगण्य भएको बताए । ‘पेट्रोलियम पदार्थमा आधारित सवारीसाधनमा अधिकतम कर छ । त्यसको तुलनामा विद्युतीय साधनमा नगण्य छ,’ उनले भने, ‘केही लुपहोल (छिद्रता) थिए, त्यसलाई सुधार गरिएको मात्रै हो । विद्युतीय गाडीलाई निरुत्साहित गर्न खोजेको होइन । तुलनात्मक रूपमा सस्तो छ, यो कर । उत्पादन लागत हेर्ने हो भने पनि यो कम हो ।’ 

एसेम्बल्ड हुने विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने ठाउँ राखेको उनले बताए । उनले भने, ‘५० किलोवाटसम्मको गाडीलाई त यथावत् नै छ । त्योभन्दा बढी क्षमताका सवारीसाधनमा भने केही बढाएका छौँ ।’ विगतमा पुँजीगत खर्च गर्ने मात्रै घोषणा हुने गरेकोमा यसपालि बुँदागत रूपमै उल्लेख गरेर पुँजीगत खर्च गर्ने प्रक्रियाहरू उल्लेख गरेको बताए । उनले भने, ‘हामी पुँजीगत खर्च गर्छौँ मात्रै भनेका छैनौँ । यसरी गर्छाैँ भनेर बुँदागत रूपमा भनेका छौँ । प्रतिबद्धता यसमा चाहिन्छ । कार्यान्वयन गरेर पनि देखाउनुपर्छ । पुँजीगत खर्चको प्रभावकारितालाई बढाउँछौँ ।’ 

 निर्माण व्यवसायीको भुक्तानी दिने आश्वासन
महतले निर्माण क्षेत्रमा भुक्तानी रोकिएको देखिएको समस्याको समाधान हुने बताए । उनले काम गरेपछि त्यसको भुक्तानी दिनुपर्ने भएकाले निर्माण व्यवसायीलाई भुक्तानी नपाउनेमा शंका नगर्न आश्वासन दिए । उनले भने, ‘ठेक्का लागेको, तर बजेट विनियोजन नभएको तथा काम नभएकोलाई मात्रै भुक्तानी नदिने भनेको हो । काम गर्ने हो ।’

 राजस्व बढ्ने दाबी
अर्थमन्त्री महतले चालू आर्थिक वर्षमा कम उठे पनि आगामी आर्थिक वर्षमा लक्ष्यअनुसार वृद्धि हुने दाबी गरे । ‘राजस्व यो वर्ष अहिलेको अवस्थालाई हेरेर भनेका छौँ । हामीले लिएका नीतिले उल्लेख्य मात्रामा राजस्व बढ्छ,’ उनले भने, ‘राजस्व लक्ष्य हासिल गर्न सक्छौँ । असारसम्म उठाउने प्रयास गर्छाैँ । उठेन भने पनि आगामी वर्ष अवश्य उठाउँछौँ ।’ उनले व्यक्तिगत लाभ हुने गरी कसैका लागि नीति नल्याएको बताए । उनले भने, ‘कसैलाई फाइदा हुने र समग्र व्यावसायिक वातावरण बिग्रने नीति हामीले लिएका छैनौँ । त्यस्तो पक्षले गुनासो गर्ने हुन सक्छ ।’

मन्त्री महतले बैंक तथा वित्तीय संस्था मर्जर, एक्वायर तथा एफपिओको आयमा थप कर नलगाएको दाबी गरे । उनले सेयर लगानीकर्तालाई छुट्टै कर लगाएको समेत बताए । यो विषयमा आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घ मैनालीले थप प्रस्टीकरण दिँदै आर्थिक विधेयकमा व्यवस्था भएअनुसार कर लगाउने व्यवस्था गरिएको जिकिर गर्दै महालेखा परीक्षकको प्रतिवेदनमा समेत कर लगाउने विषय औँल्याइएको उल्लेख गरे ।

सुझावित समाचार