भारतको नयाँ संसद् भवनले संघीयतामाथि निम्त्याउने ‘जनसांख्यिक चुनौती’

भविष्यमा भारतीय विधायिकाको आकार बढ्ने निश्चित

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे २८ मा नयाँ संसद् भवनको उद्घाटन गरे । संसद् भवन मोदी सरकारको महत्वाका‌ंक्षी ‘सेन्ट्रल भिस्टा पुनर्निर्माण परियोजना’को मुख्य हिस्सा रहेको छ । त्यही महत्वले जग राखिएको २७ महिनाभित्रैमा भवन प्रयोगमै ल्याइएको छ । तथापि, उद्घाटनको समयमा यस भवन विभिन्न गर्मागरम बहसको केन्द्रमा तानियो ।

तथापि, संसद्सँग जोडिएर हुनुपर्ने मुख्य विषयमा भने त्यति बहस भएन । नयाँ संसद्को संयुक्त बैठकका लागि १२७२ सिट राखिएको छ र यो बढेको सिट संख्याले भारतको लोकतन्त्रमाथि अझ विशेषतः संघीय संरचनामा नै प्रभाव पार्नेछ । सांसदको संख्या बढाउने योजनाअनुरूप यति ठूलो संसद् भवन बनाइएको अनुमान गर्न विज्ञ नै हुनुपर्दैन । भारतमा अहिले लोकसभा र राज्यसभामा क्रमशः ५४३ र २४५ सदस्य छन् । 

भारतको केन्द्रीय संसद्का प्रत्येक सदस्यले निश्चित जनसंख्यालाई प्रतिनिधित्व गर्छन् । सन् १९७१ देखि हालसम्म लागू व्यवस्थाअनुरूप प्रत्येक सांसदले आठ लाख ५० हजार मतदाताको प्रतिनिधित्व गर्नुपर्ने हो । तर, विगत ५० वर्षको अवधिमा जनसंख्यामा भएको बढोत्तरीको कारण एउटा संसदीय क्षेत्रमा १६ लाखसम्म जनसंख्या पुग्ने अवस्था आइसकेको छ ।

राजनीतिक वृत्तमा समय–समयमा सांसदको संख्या बढाउनुपर्ने बहस उठ्दै आएको छ । पूर्वराष्ट्रपति प्रणव मुखर्जीले देशको जनसंख्याको प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न सांसद संख्या एक हजार पुर्याउन आवश्यक रहेको बताएका थिए । ठूलो आकारको नयाँ संसद्को उद्घाटन र सांसद संख्या बढाउनुपर्ने बहसको परिपे्रक्ष्यामा निकट भविष्यमा भारतीय विधायिकाको आकार बढ्ने निश्चित छ । एउटा संवैधानिक संशोधन नै यस परिवर्तनका लागि पर्याप्त हुन्छ । 

सन् १९७१ देखि हालसम्म लागू व्यवस्थाअनुरूप प्रत्येक सांसदले आठ लाख ५० हजार मतदाताको प्रतिनिधित्व गर्नुपर्ने हो । तर, विगत ५० वर्षको अवधिमा जनसंख्यामा भएको बढोत्तरीको कारण एउटा संसदीय क्षेत्रमा १६ लाखसम्म जनसंख्या पुग्ने अवस्था आइसकेको छ ।

समानुपातिक प्रतिनिधित्वलाई प्रभावकारी लोकतन्त्रको चुरो मानिन्छ र यो तब प्रभावकारी हुन्छ जब मतदाता संख्या र प्रतिनिधिबीचको अनुपात सम्भव भएसम्म सानो राखिन्छ । तर, यसलाई अनुशरण गर्दा प्रतिनिधिसभा सञ्चालनमै कठिनाइ हुने स्थिति नआओस् भन्नेमा सचेत हुनुपर्छ । समानुपातिक प्रतिनिधित्व नियम (सानो मतदाता संख्या र प्रतिनिधिबीचको अनुपात) राज्यसभा र तल्लो तहमा बढी प्रभावकारी हुन्छ, जहाँ जनताको आवाजलाई प्रभावकारी रूपमा प्रस्तुत र समाधान गर्न आवश्यक हुन्छ । तर, राष्ट्रियस्तरमा यही सिद्धान्त तब सबैभन्दा उपयुक्त हुन्छ जब देशका सबै राज्यको जनसंख्या लगभग बराबर हुन्छन् । दुःखको कुरा, भारतको अवस्था त्यस्तो छैन । 

भारतमा अहिलेको पाँच सय ४३ सदस्यीय लोकसभा व्यवस्थापनमा कठिनाइ आउने गरेको छ । र, सबैभन्दा महŒवपूर्ण तथ्य, भारतको केन्द्रीय राजनीतिमा ठूलो जनसंख्या भएका (त्यसैले धेरै संसद् चुनिएर आउने) राज्य हाबी हुने गरेका छन् । समानुपातिक प्रतिनिधित्वको नियमका आधारमा यदि थप सांसदहरूको संख्या बढाइयो भने बढी जनसंख्या भएका राज्य थप हाबी हुनेछन् । भारत राज्यहरूको संघ होः र मेरो विचारमा अहिले यसको चरित्र युरोपेली संघको शैलीको भइसकेको छ । उदाहरणका लागि, केरला र बिहारबीचको भौगोलिक दूरी र जनसंख्याको विविधता युरोपको पोर्चुगल र हंगेरीबीचको दूरी र विविधतासँग मिल्छ ।

संघीयतामा केन्द्रको विधायिकीमा सबै राज्यको समान प्रतिनिधित्व हुने स्थितिलाई आदर्श मानिन्छ । सिक्किमजस्ता सानो तर रणनीतिक रूपमा महत्वपूर्ण सीमावर्ती राज्यमा पनि राष्ट्रलाई गम्भीर असर पर्ने समस्या हुन सक्छ । तर, त्यस्ता राज्यबाट एक वा दुईजना मात्रै सांसद छुट्याइएको छ । यसले भोलिका दिनमा गम्भीर राष्ट्रिय परिणाम निम्त्याउन सक्छ । भारतको संघीय विशेषताको संरक्षणका लागि, मतदाता संख्याका आधारमा सांसद छान्ने प्रवृत्ति परिवर्तन गर्नुपर्छ र थप वृद्धि रोक्नुपर्छ । अन्यथा आफ्नो जनसंख्या वृद्धिदरलाई नियन्त्रण गर्न सफल राज्यले तिनका केही सिट ती राज्यलाई हस्तान्तरण गर्नुपर्नेछ जसले सक्ने जनसंख्यासमेत घटाएनन् । यो त जनसंख्या घटाउन सफल राज्यलाई दण्ड दिएजस्तै हुनेछ । 

सांसदसँग अहिले पहिलेभन्दा तिनका मतदातासँग अन्तर्क्रिया गर्न सञ्चार उपकरण र प्रविधिको पहुँच बढेको कुरालाई मध्यनजर दिँदै बरु सांसद संख्या घटाउन सकिन्छ भन्ने मेरो तर्क छ । सन् १९७१ को जनसंख्याअनुरूप प्रतिसाढे आठ लाख मतदातालाई एकजना सांसदको व्यवस्था पनि त्यति आदर्शवान् होइन । यो अनुपातमा पनि सांसदले आफ्ना सबै मतदातालाई व्यक्तिगत रूपमा भेटेर तिनको विचार जान्न सम्भव छैन । उनीहरूले मतदाताको मनस्थिति वा असन्तुष्टि बुझ्न आफ्नो संसदीय क्षेत्रबाट चुनिने आठदेखि नौ विधानसभा सदस्य(एमएलए) र आफूले तयार पारेका स्थानीय सञ्जालबाट थप सहयोग लिनुपर्ने हुन्छ । 

नयाँ प्रविधिको उच्चतम प्रयोग ल्याएर र आफ्नो निर्वाचन क्षेत्रका विधानसभा सदस्यको सहयोग लिएर सांसदले १६ लाख वा अझ बढी मतदातालाई प्रतिनिधत्व गर्न सक्छन्, त्यो पनि प्रभावकारिता नघटाई । त्यसबाहेक हामीले साना राज्यका लागि निश्चित न्यूनतम संसदीय क्षेत्र तोक्ने र ठूला राज्यले पाउन सक्ने अधिकतम संसदीय संख्यामा सीमा तोक्ने व्यवस्था गर्न सक्छौँ । यस व्यवस्थामा राज्यहरूबीचको संसद्को प्रतिनिधित्वको भिन्नता करिब १० प्रतिशतभन्दा बढी नहोस् ।

युरोपेली संघको विधायिकामा सदस्य राष्ट्रहरूले जनसंख्यामा आधारित प्रतिनिधित्व हुने भए पनि कम जनसंख्या भएका राज्यहरूको हितको प्रतिनिधित्व सुनिश्चित गर्न न्यूनतम सिट तोकिएको छ । यो प्रयोग भारतका लागि एउटा नमुना हुन सक्छ । त्यसबाहेक संसदीय उम्मेदवारको छनोटको प्रणाली पनि बदल्नुपर्छ । हरेक उम्मेदवार उसको निर्वाचन क्षेत्रको पार्टी एकाइका सदस्यबाट चुनिएर आउने सुनिश्चित गर्नुपर्छ । अहिलेजस्तो पार्टी मुख्यालयले हरेक निर्वाचन क्षेत्रका उम्मेदवार तोकेर पठाउने प्रणाली लोकतान्त्रिक मूल्यविपरीत छ ।
(दास्ताने भारतीय सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल हुन् ) –द वायरबाट 

सुझावित समाचार