लगातार दुईपटक उपाधि जितेको नेपाल घरेलु कोर्टमा कजाकिस्तानसँग ३–२ को सेटमा पराजित, अब आइतबार तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्ने
अन्तर्राष्ट्रिय भलिबलको वरीयतामा ४५औँ स्थानमा रहेको कजाकिस्तान काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार कजाकिस्तानले साबिक दुईपटकको विजेता नेपाललाई २–३ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्कासमेत गरेको छ । कजाकिस्तान पहिलो सहभागितामै उपाधिनजिक पुगेको छ । दोस्रो सेमिफाइनलमा नेपालले दोस्रो २५–१६ र तेस्रो १५–१५ ले जित्दै बलियो प्रतिद्वन्द्वी कजाकिस्तानमाथि दबाब राखेको थियो । तर, चौथो र पाँचौँ सेटमा आफ्नै सामान्य कमजोरीका कारण नेपाली खेलाडीले १५–७ ले गुमाउन पुगे । पाँचौँ सेटमा पुनरागमन गर्न नसक्दा नेपालको उपाधिमाथि ह्याट्रिक गर्ने सपना अधुरै भयो ।
सेमिफाइनलमा २–१ को सेटले पछि परेको कजाकिस्तानले उत्कृष्ट पुनरागमन गर्दै चौथो २५–१८ र पाँचौँ सेटमाथि १५–७ को सहज जित निकाल्यो । कजाकिस्तानले अब आइतबार भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइलनमा उज्वेकिस्तानलाई सोझो ३–० को सेटमा पराजित गरेको थियो । नेपालले तेस्रो स्थानका उज्वेकिस्तानसँग खेल्नेछ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन र नेपाल भलिबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाल लगातार दोस्रो खेलमा पराजित भयो ।
समूह ‘ए’को खेलमा किर्गिस्तान र बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको नेपालले अन्तिम खेलमा भारतसँग ३–१ को सेटमा पराजित भएको थियो । नेपालले सन् २०१९ र २०२१ मा बंगलादेशमा भएको दुवै संस्करण जितेको थियो । बेल्जियम प्रशिक्षक जान डी ब्रान्टको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा उपाधि जित्ने योजना बनाएको थियो । घाइते भएकी स्पाइकर प्रतिभा मालीविना मैदान उत्रिएको नेपाल भारत र कजाकिस्तानविरुद्ध निरीह बन्यो ।
नेपाल रिसिभमा चुक्यो
प्रशिक्षक ब्रान्टले सुरुमै गल्ती कम गर्दा नेपाल ३–० ले हुने जनाए । ‘दोस्रो र तेस्रो सेट राम्रो भयो, पहिलो सेटमा ५–६ रिसिभ गुमायौँ, रिसिभ राम्रो भएको भए हामी ३–० ले विजयी हुन्थ्यौँ,’ ब्रान्टले खेलपछि भने । ब्रान्टले भारत र कजाकिस्तानसँगको प्रतिस्र्धामा नेपाली खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहने बताए । ‘भारत कजाकिस्तानका खेलाडी राम्रा छन्, हामीले पर्याप्त अभ्यास र मैत्रीपूर्ण खेलबिना यतिको खेल खेल्नु राम्रो हो,’ उनले थपे । कप्तान अरुणाले पहिलो सेटमा कमजोर भए पनि दोस्रो र तेस्रो सेटमा कमब्याक गरेको प्रतिक्रिया दिइन् ।
उनले टोलीको प्रदर्शनमा पनि सन्तुष्ट रहनुपर्ने बताइन् । ‘पहिलो सेटमा ५–६ सर्भिस गुमायौँ । दोस्रो र तेस्रो सेट हाम्रो पक्षमा आयो । बाँकी सेटमा हामीले राम्रो गर्न सकेनौँ,’ दुईपटक नेपाललाई उपाधि जिताएकी कप्तान अरुणाले भनिन्, ‘हामीसँगै सहभागी टोली बलिया थिए । उनीहरूसँग यतिको स्तरीय खेल प्रदर्शन गर्नु नै राम्रो हो । यस प्रतियोगिताबाट धेरै सिकेका छौँ ।’
प्रतिस्पर्धात्मक सेमिफाइनल
पहिलो सेटमा सरस्वती चौधरी र उषा भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दा खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । सरस्वतीले ६ अंक लिँदा उषाले पाँच अंक बटुलिन् । प्रशिक्षक ब्रान्टले स्पाइकरमा उषा र सरस्वतीसँगै निरुता ठगुन्नालाई अवसर दिएका थिए । मिडब्लकमा सफिया पुन र संगम महतो रहँदा लिबेरोमा सलिना श्रेष्ठ रहिन् । सेटरमा कप्तान अरुणाले कमान्ड सम्हालेकी थिइन् । पहिलो सेटमा निरुता र साफिया पुनले स्पाइकबाट समान तीन अंक लिएका थिए ।
दोस्रो सेटमा नेपालले सहज जित निकाल्यो । २३ मिनेट चलेको खेलमा नेपालले कुनै पनि समय कजाकिस्तानलाई सहज हुन दिएन । सरस्वती र साफियाले समान चार अंक बटुले । निरुताले स्पाइकरबाट तीन अंक हात पारिन् । तेस्रो सेटको समाप्तिसम्म नेपालको सर्भिस, रिसिभ र डिफेन्स पक्षमा पकड देखियो । ब्लकमा नेपाललाई कुनै समस्या नै भएन । ३० मिनेट चलेको तेस्रो सेटमा उषाले स्पाइकबाट सर्वाधिक पाँच अंक लिइन् ।
निरुताले चार र सरस्वतीले तीन अंक हात पारे । सर्भिसमा निरुताले यसै ओभरमा सात अंक पाइन् । चौथो सेट र पाँचौँ सेटमा नेपालको ब्लक, सर्भिस, रिभिस र डिफेन्स निकै कमजोर देखियो । चौथो सेट २५–१८ ले हार्दा स्पाइकरमा उषाले चार र वैकल्पिक खेलाडी पुनमले तीन अंक जोडेका थिए । पाँचौँ तथा अन्तिम सेटमा नेपालले कुनै पनि समयमा कजाकिस्तानलाई चुनौती प्रस्तुत गर्न सकेन । निर्णायक सेटमा नेपालले लगातार नौ अंक गुमाएको थियो । पाँचाँै सेटमा नेपाल कुनै समय १०–२ ले पछाडि रहेको थियो ।
भारत फाइनलमा
समूह ‘ए’को विजेता भारतले समूह ‘बी’को उपविजेता उज्वेकिस्तानलाई पराजित गर्दै उपाधिनजिक पुगेको छ । पहिलो सहभागितामै भारत फाइनलमा पुगेको हो । कमजोर उज्वेकिस्तानविरुद्ध भारतले खेल २५–१७, २५–२० र २५–१५ ले आफ्नो पक्षमा पार्यो । समूह चरणमा भारतले नेपालसँगै बंगलादेश र किर्गिस्तानलाई हराएको थियो ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले उज्वेकिस्तानलाई तीनवटै सेटम दबाब राखेको थियो । उज्वेकिस्तानले दोस्रो सेटमा खेलमा फर्कने प्रयास गरेको थियो ।