शरणार्थी प्रकरणमा थप एक पक्राउ, अदालतमा बयान सुरु

शनिबार, १३ जेठ, २०८०
डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रलोभन दिएर ठगी गरिएको मुद्दामा फरार थप एक अभियुक्त पक्राउ परेका छन् । फरार बनाएर मुद्दा दायर गरिएका लक्ष्मी महर्जनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । १६ जना पक्राउ परेकामा महर्जनसहित १४ जनालाई फरार बनाएर मुद्दा दायर भएको थियो । पीडितहरूसँग पैसा लेनदेनमा उनको खाता प्रयोग भएको आधारमा प्रहरीले प्रतिवादी बनाएको थियो । 

पक्राउ परेका प्रतिवादीहरूको भने जिल्ला अदालत काठमाडौंमा शुक्रबारदेखि बयान सुरु भएको छ । अदालत स्रोतका अनुसार शुक्रबार केशव दुलाल र सागर राईको बयान सुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान चलिरहेको छ । आइतबार पनि बयान लिने कार्य निरन्तर रहनेछ । 

‘अब सबैको बयान भएपछि बल्ल थुनछेकको बहस सुरु हुन्छ । जसमा थुनामा पठाउने वा बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्ने आदेश हुनेछ । सबै प्रतिवादीको बयान सकिन एक साता लाग्न सक्छ,’ जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्यायले भने । सरकारी वकिलले ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुर गरी चारवटा मुद्दा चलाएको छ । 

सुझावित समाचार