सीमान्तकृत समुदायको अधिकारका लागि सरकार दृढ छ : प्रधानमन्त्री

बुधबार, १० जेठ, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसंख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताएका छन् । 

नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले आफू कुमाल समुदायसहित नेपालका सबै अल्पसंख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा रहेको बताए । 

‘सानो संख्यामा रहे पनि नेपालको सामाजिक र राजनीतिक परिवर्तनमा कुमाल समुदायको महत्वपूर्ण भूमिका  छ । यो समुदायको इतिहास, संस्कृति र महत्व धेरै ठूलो छ,’ उनले भने । 

प्रधानमन्त्री प्रचण्डले सबै अल्पसंख्यक सीमान्तकृत समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन आफूले विगतदेखि नै संघर्ष गरेको उल्लेख गर्दै ती समुदायको विकास, समृद्धि, हित र मुद्दाप्रति सरकार दृढ रहेको बताए । 

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा संविधानसभा सदस्य ज्ञानेन्द्र कुमाल, कुमाल मुक्ति मोर्चाका अध्यक्ष कञ्चन कुमाल, आदिवासी जनजाति महासंघका उपाध्यक्ष श्रुति कुमाललगायतको उपस्थिति रहेको थियो ।

सुझावित समाचार