सत्तारूढ माओवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैसँग सम्झौता नहुने स्पष्ट पारेको छ । पार्टी कार्यालय कोटेश्वरमा शनिबार पत्रकार सम्मेलन गरेर माओवादी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले कुनै पार्टी वा नेतासँग सम्झौता नहुने स्पष्ट पारेका हुन् । दोषी नउम्कने र निर्दोष नफस्ने उनले दाबी गरे ।
नक्कली शरणार्थी प्रकरणलगायत कामकारबाहीले सरकारप्रति सकारात्मक प्रभाव परेको उनको भनाइ छ । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले कारबाही अघि बढाएपछि सकारात्मक प्रभाव पारेको छ । पदाधिकारी बैठकले सरकारलाई खुट्टा नकमाउन भनेको छ,’ उनले भने । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भएको निरन्तरको भेटपछि ढिसमिस हुने आशंका व्यक्त भइरहेका वेला महराले कुनै पनि सम्झौता नहुने बताएका हुन् । प्रचण्ड, देउवा र ओलीबीच शरणार्थी प्रकरणमा नभई संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा छलफल हुने गरेको महराले दाबी गरे ।
सरकारको कामले जनतामा सकारात्मक सन्देश गएको उनले बताए । ‘नक्कली भुटानी शरणार्थीमा संलग्नलाई कारबाही, मिटरब्याजपीडितलाई न्याय दिन कानुन निर्माण, विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध, बिदाको दिनमा कार्यालय सुरु राख्ने कामले सकारात्मक सन्देश दिएको छ,’ उनले भने, ‘इतिहासमै पहिलोपटक समयमै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ ।’
सुशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, वित्तीय अनुशासनमा सरकारले जोड दिएको उनले बताए । सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर हुने र रोजगारी प्रवद्र्धन हुने महराको दाबी छ । कम्तीमा पाँच लाख रोजगारी सिर्जना गर्ने, सबैको घरधुरीमा बिजुली पुर्याउने उनको जिकिर छ ।
विद्यालयको सुधार गरी शिक्षालाई व्यवस्थित गर्ने, सबै अस्पतालमा विशेषज्ञ डाक्टरहरू सुनिश्चित गर्नेलगायत नीति सरकारले लिएको उनको भनाइ छ । महराले तत्कालीन क्यान्टोनमेन्टमा कुनै आर्थिक हिनामिना नभएको जिकिर गरे । ‘त्यसमा म पनि सहभागी छु । साढे ६ वर्ष जनमुक्ति सेनाको रेखदेख राज्यले लियो । सबैभन्दा पहिलेको पाँच महिना सेनाको क्याम्प व्यवस्थापन भनेर मैले ४६ करोड रुपैयाँ बुझेको थिएँ,’ उनले भने, ‘अरू झन्डै २० अर्ब रुपैयाँ खर्च भएको होला । त्यो सबै बजेट शिविर व्यवस्थापन कार्यालयबाटै खर्च भएको छ ।’