काभा भलिबल च्यालेन्ज कप : नेपाललाई उपाधि जोगाउन चुनौती

सोमबार, ८ जेठ, २०८०
डिजिटल संस्करण
  • दुईपटक उपाधि जितेको नेपाललाई घरेलु कोर्टमा आयोजना हुने काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि जोगाउन चुनौती 
  • विश्व वरीयतामा कजाकिस्तान र भारतजस्तो शक्तिशाली राष्ट्रविरुद्ध मुख्य खेलाडी प्रतिभा माली नहुनु र सीमित अभ्यासका कारण नेपाल दबाबमा 

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप आजबाट सुरु हुँदै छ । आयोजक नेपालसहित आठ टोलीले त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा प्रतिस्पर्धा गर्दै छन् । नेपाल प्रतियोगिताको उपाधि ह्याट्रिक गर्ने योजनामा छ । अरुणा शाहीको कप्तानीमा रहेको नेपालले सहभागी अन्य राष्ट्रलाई पाखा लगाउन कठिन मानिएको छ । नेपालले सन् २०१९ र २०२१ मा बंगलादेशमा आयोजना भएको प्रतियोगिता ब्याक टु ब्याक जितेको थियो । पछिल्ला दुई प्रतियोगिताको तुलनामा यसपटक नेपालले कठिन प्रतिद्वन्द्वीको सामना गर्नुपर्नेछ । 

भारत र कजाकिस्तानका साथै श्रीलंका र किर्गिस्तान बलिया टोली हुन् । चारै देशले उपाधि दाबेदारी प्रस्तुत गरेका छन् । तीन राष्ट्रले घरेलु टोलीलाई चुनौती दिने जनाउँदा साबिक विजेता नेपालको प्रशिक्षण प्रभावकारी रहेन । मुख्य ओपन स्पाइकर प्रतिभा माली घाइते छिन् । नेपाली टोलीमा ६ नयाँ खेलाडीले स्थान बनाएका छन् । नेपालले आफूलाई अभ्यास खेलमा परीक्षण गर्न पाएको छैन । नेपालले अभ्यास खेलेन । 

यद्यपि, नेपाली टोलीले उपाधि जित्ने लक्ष्य बनाएको छ । ‘सीमित अभ्यासबाट हामीले उपाधि जित्ने योजना बनाएका छौँ । अन्य टोलीको खेल हेर्न पाएका छैनौँ,’ नेपालकी कप्तान अरुणाले भनिन्, ‘अभ्यास खेल खेल्न नपाए पनि हामीमा जित्न सकिन्छ भन्ने मनोबल छ ।’ बजेटको आभावका कारण नेपाली खेलाडीले अभ्यास खेल्न नपाएको कप्तानले बताइन् । ‘अभ्यासका लागि भनेका थियौँ, तर बजेट अभाव भयो । त्यसपछि हामीले संघलाई दबाब सिर्जना गरेनौँ,’ अरुणाले भनिन्, ‘यद्यपि, नेपालको पुरुष टोलीसँग अभ्यास गर्दै कमजोर मानिएको रिसिभ र सर्भिसलाई सुधार गरेका छौँ ।’ 

प्रतियोगितामा दक्षिण एसिया तथा सेन्ट्रल एसियाका आठ राष्ट्रको सहभागिता छ । नेपाल समूह ‘ए’मा छ । यस समूहमा किर्गिस्तान, भारत र बंगलादेश रहेका छन् । समूह ‘बी’मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र कजाकिस्तान छन् । समूहका शीर्ष दुईले सेमिफाइनलमा स्थान बनाउनेछन् । नेपालको समूहमा भारत सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो । नेपाल सन् २०१९ मा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित भएको थियो । भलिबल इतिहासमा नेपालको यो नै उच्च प्रदर्शन थियो । 

किर्गिस्तान नेपालको प्रतिस्पर्धात्मक प्रतिद्वन्द्वी हो । समूह बीमा रहेको कजाकिस्तान प्रतियोगिताकै सबैभन्दा बलियो टोली मानिएको छ । कजाकिस्तान विश्व वरीयताको ४५औँ स्थानमा छ । नेपालले हालसम्म कजाकिस्तानसँग खेलेको छैन । अन्य सात राष्ट्रले हालसम्म वरीयतामा स्थान बनाउन सकेका छैनन् । 

चार टोलीको उपाधि दाबेदारी
नेपालसँगै भारत, कजाकिस्तान र श्रीलंकाले उपाधि दाबेदारी दिएका छन् । आइतबार भएको पत्रकार सम्मेलनमा आठमध्ये चार कप्तानले उपाधि जित्ने योजना भएको सुनाए । माल्दिभ्स, बंगलादेश, उज्वेकिस्तान र किर्गिस्तानले उपाधिमाथि दाबेदारी दिएनन् । उनीहरूले राम्रो प्रदर्शनमा मात्र ध्यान दिने जनाए । भारतकी कप्तान मिनिमोल अब्राहमले लक्ष्य उपाधि रहेको र पदक लिएरै घर फर्कने जनाइन् । ‘प्रतियोगितामा सहभागी हुन पाउँदा खुसी छु । हाम्रो लक्ष्य उपाधि हो । यदि सम्भव नभए रजत र कांस्यका लागि प्रतिस्पर्धा हुनेछ,’ इन्डियन रेल्वेकी खेलाडीसमेत रहेकी मिनिमोलले भनिन् । 

कजाकिस्तानकी कप्तान बालागुजिनोरा सानियाले मानसिक रूपमा प्रतियोगिताका लागि तयार रहेको र उपाधिका लागि प्रतिस्पर्धा गर्ने बताइन् । श्रीलंकाकी कप्तान थिलिनी वासना परेराले दुई महिनाको तयारी गरेको बताउँदै उपाधि जित्ने योजना सुनाइन् । ‘हामीले लगभग दुई महिनाको तयारी गरेका छौँ । उच्च प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य छ,’ उनले सुनाइन् । यसबाहेक माल्दिभ्सकी रसिद्धा, बंगलादेशकी सविना खातुन, किर्गिस्तानकी काडिरोभ एइडाई, उज्वेकिस्तानकी फोमोलोभ नोजिमाले उत्कृष्ट प्रदर्शन गर्ने बताए । 

नेपाल र किर्गिस्तान भिड्दै
उद्घाटन खेलमा आयोजक नेपाल र किर्गिस्तान प्रतिस्पर्धा गर्दै छन् । नेपाली टोलीकी कप्तान अरुणाले पहिलो खेल परीक्षणसँगै तीन अंक हात पार्न खेल्ने बताइन् । ‘हामीले अहिलेसम्म कुनै पनि प्रतिस्पर्धीको खेल हेर्न पाएका छैनौँ । किर्गिस्तान कस्तो टोली हो, भन्न सक्दैनौँ । तर, घरेलु दर्शकमाझ जित्न खेल्छौँ,’ अरुणाले भनिन्, ‘पहिलो खेल सधैँ महत्वपूर्ण हुन्छ । हामी प्रत्येक खेलमा राम्रो प्रदर्शन गर्दै अगाडि बढ्छौँ ।’  

फितलो व्यवस्थापनबीच प्रि–म्याच 
खेलकुदमा खेलअघि प्रि–म्याच र खेलपछि पोस्ट–म्याच हुने परम्परा छ । काभा च्यालेन्ज कपको पूर्वसन्ध्यामा गरिएको प्रि–म्याचमा नेपाल भलिबल संघ (एनभिए)को कमजोर व्यवस्थापन देखियो । पत्रकार सम्मेलनमा सहभागी आठ राष्ट्रकै कप्तान सहभागी हुँदा एनभिएले साउन्ड सिस्टम र माइकको व्यवस्थापन गर्न सकेन । कभर्डहलभित्र अन्तिम तयारी रहँदा होहल्ला उत्तिकै थियो ।

माल्दिभ्सकी कप्तान रसिद्धाले सुरुमा बोल्न माइक खोजिन् । तर, उनले पाइनन् । त्यसपछि उनी मााइकविना बोलेकी थिइन् । सहभागी कप्तानलाई ट्रफीसँग फोटो खिचाउँदै फितलो व्यवस्थापन लुकाउने प्रयास गरियो । फोटो सेसनपछि पनि माइक उपलब्ध नभएपछि पत्रकार सम्मेलन पुनः सुरु गरियो । फेरि सहभागी राष्ट्रका कप्तानबीच भाषा समस्या भयो । आयोजकले दोभासे उपलब्ध गराउन नसक्दा पत्रकार र खेलाडीबीच प्रश्नोत्तर नै हुन सकेन । 

नेपाली टोलीमा ६ नयाँ अनुहार
नेपाली खेलाडीलाई जान डी ब्रान्टले प्रशिक्षण दिइरहेका छन् । ब्रान्टले प्रतियोगिताका लागि ६ नयाँ अनुहारलाई मौका दिनेछन् । घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ६ खेलाडीलाई बेल्जियम नागरिक ब्रान्टले पहिलोपटक टोलीमा अवसर दिएका हुन् । ओपन स्पाइकर रिमा कुँवर, पूजा चौधरी, मिडल ब्लकर कविता भट्ट, संगम महतो, सेटर प्रगति नाथ र लिबेरो शान्तिकला तामाङले टोलीमा पहिलोपटक स्थान बनाएका हुन् । प्रतिभा र सेटर कृपा अधिकारीसँगै लिबेरो सरस्वती जैशी टोलीमा छैनन् । कप्तान अरुणाले प्रतिभा टोलीमा नहुँदा ‘ब्याड न्युज’ रहेको र नयाँ खेलाडीले अवसरलाई सदुपयोग गर्ने बताइन् ।

 ‘प्रतिभा नहुनु खराब हो । तर, टोलीमा रहेका नयाँ खेलाडीको भलिबलमा लगाव छ । त्यसैले मनोबल उच्च रहेको छ,’ उनले भनिन् । प्रशिक्षक ब्रान्टले स्पाइकर निरुता ठगुन्ना र पुनम चन्दलाई १३औँ सागपछि टोलीमा पुनरागमन गराएका छन् । प्रतिभाको स्थान युवा स्पाइकर उषा भण्डारीले लिनेछिन् । उषासँगै कप्तान शाही तथा कामना विष्ट, सरस्वती चौधरी, साफिया पुन र सलिन श्रेष्ठ टोलीका मुख्य र नियमित खेलाडी हुन् । 

सुझावित समाचार