पछिल्लो समय अपराधका घटनामा राजनीतिक दलका नेताहरू जोडिनुलाई कसरी विश्लेषण गर्न सकिन्छ ?
यो ०४६ पछिको ठूलो दुर्गुण हो । पछिल्लो समयमा नक्कली भुटानी शरणार्थी प्रकरणलगायत अन्य ठूला भ्रष्टाचारका घटनामा अन्ततः राजनीतिक तथा प्रशासनिक नेतृत्व जोडिएको देखिनु दुर्भाग्यपूर्ण र नेपाललाई नै लज्जित बनाउने विषय हो ।
पछिल्लो प्रकरणमा मुछिएका राजनीतिक नेतृत्वको व्यवहार कस्तो देख्नुहुन्छ ?
नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानकै क्रममा छ । र पनि प्रहरी नियन्त्रणमा रहेका नेताले ‘सेलिब्रेटी’ जसरी सगौरव हात हल्लाउँदै आफूलाई प्रस्तुत गरिरहेका छन् । उनीहरूको जीवनस्तरले पनि सत्ता र शक्तिको छायामा रहनेहरूबीचको अन्तर स्पष्ट पारेको छ । यस प्रकरणपछि एक अर्काको मुखै हेर्न नचाहने तथा उत्तर र दक्षिण फर्किएर बस्ने शीर्ष नेताहरूसमेत एकै ठाउँमा भेला हुन थालेका छन् । यसले उनीहरू अनुसन्धानलाई प्रभावित बनाउन लागिपरेका हुन् कि भन्ने आशंका बढाएको छ । यो नेपालीका लागि ठूलो दुर्भाग्य हो ।
ठूला भ्रष्टाचार मुद्दामा छानबिन किन प्रभावकारी बन्न सक्दैनन् ?
छानबिन गर्ने निकायमा पनि राजनीतिक नियुक्ति हुने गर्छ । यसले सत्ता र शक्तिमा रहिरहनेहरूलाई त्यसको आडमा सधैँ उन्मुक्ति पाउने र मिलेमतोमा यस्ता गतिविधि गरिरहने छुट दिएजस्तो देखिन्छ । अहिले यस्ता घटनालाई नियन्त्रण गर्ने एउटा अवसर आएको छ । अहिलेसम्मको अवस्थामा पनि मझौला खाले राजनीतिक नेतृत्व मात्रै यस्ता घटनामा पर्ने गरेको देखिन्छ । साँच्चै शक्तिशाली भनिएका ठूला राजनीतिक नेतृत्व कारबाहीमा आउने वातावरण अझै बनिसकेको छैन ।