गाउँपालिकामा लगाएको ताला अझै खुलेन

सोमबार, १ जेठ, २०८०
डिजिटल संस्करण

धादिङको थाक्रे गाउँपालिकामा स्थानीयले गरेको तालाबन्दी अझै खुलेको छैन । ढुंगाखानी बन्द गर्न माग गर्दै स्थानीयले १८ वैशाखमा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दीले सेवाग्राही मारमा परेका छन् । 

‘थाक्रे गाउँपालिका– ४ धैरेनीको परेवाभिरस्थित आग्रा खोलाकिनारमा रविना एग्रिगेट प्रालिले ढुंगाखानी उत्खनन गरिरहेको छ । खानी विभागले तोकेको १८ बुँदे मापदण्ड पालना नगरी मापदण्डविपरीत चरन क्षेत्रमा खानी सञ्चालन गरिएपछि ताला लगाएका हुन्,’ स्थानीय अशोक अधिकारीले भने, ‘खानीको जग्गा र सार्वजनिक छुट्याई नियमअनुसार खानी सञ्चालन होस् भन्ने हाम्रो माग हो ।’ खानीले स्थानीयको जनजीवनमा प्रत्यक्ष असर परेको छ । पालिकाले पनि कार्यविधि नबनाई अनुमति दिएको स्थानीयको भनाइ छ । ‘खानीको जग्गा एकातिर छ, चरण क्षेत्रमा उत्खनन भइरहेको छ । गाउँपालिकाले हाम्रो मागलाई सुनुवाइ नहुन्जेल पालिका तालाबन्दी हुन्छ,’ उनले भने । 

गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले स्थानीय र व्यवसायीको सहमतिमै खानी सञ्चालन भएको दाबी गरे । ‘रविना एग्रिगेट प्रालि ०७६ मा दर्ता गर्ने वेलादेखिकै विवाद थियो । पछि व्यवसायी र स्थानीयको सहमतिमै खानी दर्ता गरिएको हो,’ अध्यक्ष आचार्यले भने, ‘आन्तरिक आयको हिसाबले खानी क्षेत्रबाट १३ करोड ५५ लाख संकलन गरेको छ । खानीहरू बन्द गर्दा ठेक्काहरू रद्द गर्नुपर्ने अवस्था पनि आउन सक्छ । आन्तरिक आय पनि घट्न सक्छ ।’ पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बरालले आर्थिक वर्षको अन्त्यतिर विकासे काम र योजनाले गति लिने वेला तालाबन्दी हुँदा सेवा प्रभावित भएको बताए । 

‘यो विकासे काम र योजनाले गति लिने वेला हो । तालाबन्दीले सेवा प्रभावित बनेको छ । सेवाग्राही आउने–फर्कने गरिरहेका छन्, तालाबन्दीले ठूलो समस्या पारेको छ,’ उनले भने । गाउँपालिका उपप्रमुख यन्त्रबहादुर थापाले भने राजनीतिक आस्थाका आधारमा पार्टी र कार्यकर्ता संरक्षण गर्न खानी सञ्चालन गर्न अनुमति दिइएकाले समस्या आएको जिकिर गरे ।

‘आस्थाकै कारण पार्टी र कार्यकर्ता संरक्षण गर्न हतारमा खानी सञ्चालन गर्न अनुमति दिइएको देखिन्छ । व्यवसायीले खानी विभागले तोकेको १८ बुँदामध्ये एउटै पनि पालना गरेका छैनन् । प्राकृतिक सम्पत्ति दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन, तर भइरहेको छ । स्थानीयको माग सम्बोधन गर्न नसक्दा उनीहरूले पालिकामा तालाबन्दी गरेका हुन्,’ उपाध्यक्ष यन्त्रबहादुर थापाले भने । 

वैधानिक रूपमा चलेका खानीहरू छानबिन गर्न गाउँपालिकामा समिति पनि बनेको छ । त्यहीअनुसार खानी सञ्चालनमा रहेको अध्यक्ष आचार्यले दाबी गरे । गत चैतमा अध्यक्ष आचार्य अमेरिका गएका वेला कार्यवाहक अध्यक्ष रहेका थापाले खानी बन्द गर्न आदेश दिएका थिए । तर, व्यवसायीले उच्च अदालतबाट अन्तरिम आदेश ल्याएकाले अहिले बन्द गर्न सकिने अवस्था नरहेको अध्यक्ष आचार्यको भनाइ छ । 

See More On

सुझावित समाचार