जेठ ४ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रश्नोत्तर गर्ने तयारी गरिएको छ। आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो।
बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले जेठ ४ गते को बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुने तयारी भएको जानकारी दिए। उनले संसदभित्र रहेका दलहरूको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको बताए।
त्यसैगरी, संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नियमावलीअनुसार प्रधानमन्त्रीलाई सोध्ने प्रश्न तीन दिनअगावै सभामुखकहाँ पुग्नुपर्ने बताए। ती प्रश्नहरू प्रधानमन्त्रीलाई जानकारी गराइने व्यवस्था रहेको उल्लेख गर्दै इच्छुक १५ सदस्यहरूले प्रश्न सोध्न पाउने पनि उनले स्पष्ट पारे।