सामाजिक सञ्जालबाट चिठ्ठा परेको लोभ देखाई ठगी गर्ने समूह पक्राउ

आइतबार, ३१ बैशाख, २०८०
डिजिटल संस्करण

उदयपुरमा चिठ्ठा पर्यो भनी ठगी गर्ने समूहका तीनजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरले सामाजिक सञ्जालबाट चिठ्ठा पर्यो भनेर ठगी गर्ने समूहका तीनजनालाई पक्राउ गरेको हो।

विभिन्न प्रलोभन देखाई सामाजिक सञ्जालबाट ठगी गरेको आरोपमा कटारी नगरपालिका–३ का उज्जवल थापामगर, विशाल थापामगर र चितवन रत्ननगर– २ का सुशील श्रेष्ठलाई पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख एसपी ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए।

पछिल्लो समय समाजिक सञ्जाल तथा मोबाइलमा कल गरेर चिठ्ठा पर्यो भनेर ठगी गर्ने गिरोह सक्रिय भइरहेको वेला उदयपुर प्रहरीले तीनजनालाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको फुँयालको भनाइ छ।

पक्राउ परेका व्यक्तिहरूको समूहले त्रियुगा नगरपालिका– ३ का उदय राईलाई ह्वाट्स एपमा २५ लाखको चिठ्ठा पर्यो भनी रकम प्राप्त गर्न कर तिर्ने प्रयोजनका लागि भनेर २२ लाख २० हजार ठगी गरेको प्रहरीले जनाएको छ।

ठगी गर्ने समूहले विभिन्न व्यक्तिको बारेमा अध्ययन गर्ने, सामाजिक सञ्जालबाट प्रलोभनसहितको लिंक पठाउने, चिठ्ठा परेको भनेर कल गर्ने र चिठ्ठाबापतको रकम प्राप्त गर्न करबापतको रकम पठाउन लगाएर ठगी गर्ने गरेको उदयपुरका प्रहरी प्रमुख फुँयालले बताए। उनका अनुसार उक्त समूहले विभिन्न जिल्लाबाट पैसा प्राप्त गरेको रेकर्ड फेला परेकाले ठगीमा पर्नेको संख्या ठूलो हुन सक्ने अनुमान छ।

पक्राउ परेका तीनैजनालाई जिल्ला अदालतबाट मुलुकी अपराधसंहिता २०७४ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा ६ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।
 

सुझावित समाचार