एउटै नम्बरका दुई उत्तरपुस्तिका भेटिए

शुक्रबार, २९ बैशाख, २०८०
डिजिटल संस्करण

सिन्धुलीकाे मरिण गाउँपालिकाको खयरसाल माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रमा कक्षा १२ को सामाजिक विषयको परीक्षाको क्रममा एउटा उत्तरपुस्तिका बढी भेटिएको छ । 

सो उत्तरपुस्तिका परीक्षा चलिरहेका वेला बाहिर कतै बसेर लेखिएको हुन सक्ने बताइएको छ । 

शिक्षा समन्वय एकाइका प्रमुख निर्मल घिमिरेले अनुगमनको क्रममा एउटा उत्तरपुस्तिका बढी पाइएको भन्दै सो उत्तरपुस्तिकामा परीक्षा दिने परीक्षार्थीको परीक्षा रद्द गरिएको जानकारी दिए । उनले ती परीक्षार्थी को हुन् भन्नेबारे खुलाएनन् । तर, शनिबार आवश्यक कारबाहीको निर्णय हुने जानकारी दिए । 

शुक्रबार कक्षा १२ को सामाजिक विषयको परीक्षामा एउटै नम्बरका दुईवटा उत्तरपुस्तिका फेला परेका थिए । परीक्षा सकिएपछि गणना गर्ने क्रममा जिल्ला सदरमुकामबाट पुगेको अनुगमन टोलीले एउटा उत्तरपुस्तिका बढी रहेको भेटेको थियो । 

खयरशाल परीक्षा केन्द्रमा अनियमित तरिकाले परीक्षा सञ्चालन भइरहेको उजुरी परेपछि प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी उपरीक्षक  सिलवाल र शिक्षा समन्वय कार्यालय सिन्धुलीका प्रमुख निर्मल घिमिरेको टोली अनुगमनमा गएको थियो । 

अनुगमन टोली पुगेकै वेला एक शिक्षकले सो उत्तरपुस्तिका ल्याएर मिसाउन खोजेका थिए । त्यसपछि खोजबिन गर्दा गोजीमा हालेर ल्याइएजस्तो खुम्चिएको अवस्थामा रहेको उत्तरपुस्तिका जफत गरिएको थियो । सोही नम्बरको अर्को उत्तरपुस्तिका पनि भेटिएको छ । 

घटनाबारे उच्च शिक्षा माध्यमिक परिषद्लाई जानकारी गराइसकिएको भन्दै घिमिरेले शनिबार परिषद्को जनकपुर कार्यालयबाट प्रतिनिधि आएपछि आवश्यक निर्णय लिइने बताए । 

सुझावित समाचार