इमरान खान पक्राउ : हिंसात्मक प्रदर्शनमा आठजनाको मृत्यु, २९० घाइते

बिहिबार, २८ बैशाख, २०८०
डिजिटल संस्करण
इमरान खान पक्राउ : हिंसात्मक प्रदर्शनमा आठजनाको मृत्यु, २९० घाइते

तस्बिर : राेयटर्स

पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा आठजनाको मृत्यु भएको छ। झडपमा दुई सय ९० जनाभन्दा बढी घाइते भएका पाकिस्तानी पत्रिका डनले उल्लेख गरेको छ।

झन्डै एक हजार नाै सय प्रदर्शनकारी गिरफ्तार भएका छन्। झडपमा प्रहरी चौकीसहित विभिन्न सरकारी भवनहरू ध्वस्त भएका छन्। इस्लामाबादको एक उत्तरदायित्व अदालतले बुधबार अल कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई आठ दिनका लागि हिरासतमा लिएपछि देशभर तनावको स्थिति सिर्जना भएको छ।

केन्द्रीय महासचिव असद उमरलाई हिरासतमा लिएको केही घन्टापछि पिटिआईका वरिष्ठ उपाध्यक्ष फवाद चौधरीलाई पक्राउ गरिएको थियो। पञ्जाब, खैबर पख्तुनख्वा र इस्लामाबादमा प्रशासनले बिग्रँदै गएको अवस्थालाई व्यवस्थापन गर्ने प्रयासमा सेना परिचालन गरेको थियो।

प्रदर्शनकारीहरूले कोर कमान्डरको लाहोरस्थित घरमा प्रवेश गरी रावलपिण्डीको जिएचक्यूको एउटा गेटसमेत भत्काएका छन्। यसअघि आजै यहाँका पूर्वविदेशमन्त्री एवं पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई)का उपाध्यक्ष मखदुम शाह महमुद कुरैसीलाई इस्लामाबाद प्रहरीले पक्राउ गरी अज्ञात स्थानमा सारेको थियो। पाकिस्तानको एक्सप्रेस ट्रिब्युनका अनुसार बुधबार दिउँसो पिटिआई नेतालाई इस्लामाबादको गिलगिट–बाल्टिस्तान हाउसबाट हिरासतमा लिइएको थियो।

मंगलबार, पिटिआई अध्यक्ष खानलाई भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको छ। उत्तरदायित्व ब्युरोले पूर्वप्रधानमन्त्रीविरुद्ध अनुसन्धान गर्दै छ।

सुझावित समाचार