भुटानी शरणार्थी ठगी काण्डलाई अन्तर्राष्ट्रिय जगत्ले कसरी हेर्ला ?
नेपालको राजनीतिक नेतृत्व र सुरक्षा संयन्त्र ठगी र भ्रष्टाचारमा चुर्लुम्म डुबेको तथा घुस खुवाएर जेसुकै पनि गर्न सकिने शासकीय दुरवस्थाको निष्कर्ष अन्तर्राष्ट्रिय जगत्ले निकाल्ने अवस्था बनेको छ ।
नेपालमा स्वाभाविक सामरिक स्वार्थ भएका भारत र चीनको प्रतिक्रिया कस्तो आउला ?
नेपालको गृह प्रशासन दुबै छिमेकीका लागि संवेदनशील हुन्छ । गृह मन्त्रालय र यसअन्तर्गतका संयन्त्रसँग दुबै छिमेकीको शान्ति सुरक्षाका नियमित र आकस्मिक असामान्य ‘इस्यु’हरू जोडिन्छन् । गृह मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्व नै अन्तर्राष्ट्रिय अपराधमा मतियार रहेको यस काण्डको दुष्परिणाम नेपालकै लागि अत्यन्त पीडादायी हुन सक्छ । यसले दुबै छिमेकीलाई नेपालमा आफ्नो तात्कालिक इस्यु र दीर्घकालीन सामरिक मामिला सम्बोधन गर्न असामान्य वैकल्पिक विधि अपनाउन बाध्य पार्ने जोखिम बन्छ ।
नेपालको अन्तर्राष्ट्रिय छवि जोगाउन र दुबै छिमेकीलाई आश्वस्त पार्न के गर्नुपर्ला ?
अनुसन्धानलाई राजनीतिक दबाब र प्रलोभनबाट मुक्त राख्नुपर्छ । मुक्त छ भन्ने विश्वास दिलाउनुपर्छ । तर, यो काण्ड सार्वजनिक रूपमा उदांगो भएको एक साता नबित्दै नेतृत्वको असामान्य छटपटी, निरन्तरको भेटघाट र तर्सिएको भावभंगिमाको प्रदर्शनले अनुसन्धानलाई शंकाको घेरामा पारिसकेको छ । यसमा लिपपोत भयो भने खप्न नसक्ने दुष्परिणाम आउन सक्छ । दुवै छिमेकीसामु अनुसन्धानको निष्पक्षता र दक्षता पत्यारिलो बनाउनैपर्छ । तर, के प्रमुख दलका नेतृत्व राष्ट्रिय हितमा व्यक्तिगत, पारिवारिक र गिरोहको स्वार्थ त्याग्न समर्थ होलान् ?