बागमती प्रदेश युवा परिषद्ले दियो ११९ जना प्राविधिकलाई जागिर

मंगलबार, २६ बैशाख, २०८०
डिजिटल संस्करण

बागमती प्रदेशका १३ जिल्लाका विभिन्न स्थानीय तहमा काम गर्ने गरी मंगलबार बागमती प्रदेश युवा परिषद्ले एक सय १९ जना प्राविधिक नियुक्ति गरेको छ । 

प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश युवा परिषद्ले राष्ट्रिय विकास स्वयंसेवक कार्यक्रमअन्तर्गत विभिन्न विषयका एक सय १९ जना प्राविधिक कर्मचारीहरूलाई स्थानीय तहमा खटाएको हो । 

उनीहरूलाई नियुक्ति-पत्र प्रदान गर्नुपूर्व परिषद्ले हेटौँडामा एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्यो । कार्यक्रममा युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले एक हजार ५ सय जनाले स्वयंसेवकमा काम गर्न निवेदन दिएकोमा एक सय १९ जनालाई काममा खटाइएको जानकारी दिए । 

परिषद्ले सार्वजनिक सूचना प्रकाशन गरेर स्वयंसेवकका लागि आवेदन माग गरेको थियो । 

कार्यकारी उपाध्यक्ष चौलागाईंले प्रदेश युवा परिषदमार्फत कृषि तथा भेटनरी प्राविधिक, ल्याब असिस्टेन्ट, स्टाफ नर्स, अहेब, अनमी, गणित तथा विज्ञान शिक्षकलाई प्रदेशका विभिन्न पालिकाहरूमा खटाएको जानकारी दिए । 

चौलागाईंका अनुसार त्यसरी खटिएका प्राविधिकहरूले प्रदेशको सामाजिक विकास मन्त्रालयबाट परिषदमार्फत १६ हजारदेखि २० हजार रुपैयाँसम्म तलब पाउनेछन् । उनीहरूलाई पालिकाहरूको मागअनुसार कार्यक्षेत्रमा खटाइएको पनि उपाध्यक्ष चौलागाईंले जानकारी दिए । 

अभिमुखीकरण कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री कुमारी मोक्तानले पाएको जिम्मेवारी कर्तव्यनिष्ठ भएर पूरा गर्न आग्रह गरिन् । उनले देशका लागि सेवा गर्ने र आफ्नो क्षमता अभिवृद्धि गर्ने दुवै अवसर भएकोले खटिएका ठाउँमा सेवाग्राहीको मन जित्ने गरी काम गर्न सुझाव दिइन् ।

सुझावित समाचार