सांसद रायमाझीले प्रयोग गरेको शब्द ‘झट्केलो छोरो’ रेकर्डबाट हटाउन निर्देशन

मंगलबार, २६ बैशाख, २०८०
डिजिटल संस्करण
सांसद रायमाझीले प्रयोग गरेको शब्द ‘झट्केलो छोरो’ रेकर्डबाट हटाउन निर्देशन

फाइल तस्बिर

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वैशाख २४ गतेको सभाको बैठकमा सत्तापक्षका सदस्य रमेशजंग रायमाझीले प्रयोग गरेको शब्द रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका छन्। 

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष तिमिल्सिनाले सत्तापक्षका सांसद रमेशजंग रायमाझीले प्रयोग गरेकाे ‘झट्केलो छोरो हो, टोपबहादुर रायमाझी’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्। 

वैशाख २५ गतेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले रमेशजंग रायमाझीको शब्दप्रति नियमापत्ति जनाएका थिए। 

एमालेले नियमापत्ति जनाएसँगै अध्यक्ष तिमिल्सिनाले आफूले एकपटक सुनेर आजको बैठकमा निर्णय लिने बताए। सोहीअनुसार आजको बैठकमा अध्यक्ष तिमिल्सिनाले सदस्य रायमाझीले प्रयोग गरेको राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१ को (घ)को व्यवस्थासँग मेल नखाने भएकाले ०८० वैशाख २४ गतेको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए। 

अध्यक्ष तिमिल्सिनाले सदस्यहरूले सभामा बोल्दा राष्ट्रिय सभाको हालसम्मको अभ्यासलाई समेत मध्यनजर गरी राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१ को व्यवस्थाबमोजिम शिष्ट र मर्यादित शब्दहरू प्रयोग गर्न आग्रह गरे। 
 

सुझावित समाचार