नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगी धन्दाको छानबिन गरी निष्कर्षमा पुर्याउन सांसदहरूले माग गरेका छन् । केही सांसदले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा न्यायिक छानबिन गर्न माग गरेका छन् भने केहीले अनुसन्धानको जिम्मा सिआइबीलाई दिन माग गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको मुख्य समस्या भ्रष्टाचार भएको उल्लेख गर्दै देश र प्रणालीलाई भ्रष्टाचारबाट जोगाउनुपर्ने बताए । नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउन नहुने उनको भनाइ छ । ‘यो भ्रष्टाचारलाई हामी जबसम्म नियन्त्रण गर्दैनौँ, भ्रष्टाचारीलाई जबसम्म कारबाही गर्दैनौँ तबसम्म सुशासनको प्रत्याभूति गर्न सकिँदैन,’ उनले सोमबार संसद्मा भने, ‘प्रधानमन्त्रीजीले खुट्टा नकमाईकन दृढताका साथ अगाडि बढ्नुपर्छ । उहाँको परीक्षाको वेला आएको छ । हाम्रो पूरा साथ–सहयोग रहन्छ । सत्तासहयात्री दलहरूले पनि यो प्रकरणमा कुनै पनि दोषी र भ्रष्ट व्यक्तिहरू नउम्किऊन्, नछुटून् भनेर प्रधानमन्त्रीलाई भनिसकेका छन् । तर, निर्दोषहरूलाई अनावश्यक रूपमा बदनाम गर्ने कामहरू गर्ने, अपमान गर्ने काम नहोस् ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिलिजुली एक–अर्कालाई जोगाउने काम नगर्न चेतावनी दिए । ‘अहिले भएको शरणार्थी भ्रष्टाचार काण्डमा ताप्केको बिँड तात्यो, तात्दै गरेको ताप्के सेलाएको छ । ताप्के नसेलाओस् । सिंगो राष्ट्र र अन्तर्राष्ट्रिय समुदायले हेरेको छ । दोषी कोही नउम्कियोस्, मिलिजुली एक–अर्कालाई जोगाउने काम नहोस् । हामी यसलाई नजिकबाट नियालिरहेका छौँ,’ उनले भने ।
कांग्रेस सांसद अर्जुननरसिंह केसीले राष्ट्रलाई नै लज्जित बनाउने नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबै व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे । विभिन्न देशमा पूर्वप्रधानमन्त्रीसमेत भ्रष्टाचार काण्डमा जेल परेको उदाहरण दिँदै केसीले भने, ‘यो प्रकरणबारे भूतपूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्छ । जो, जहाँ, जुनसुकै पदमा भए पनि गम्भीर छानबिन गरी कारबाही गरिनुपर्छ ।’
रास्वपाकै असिम शाहले पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा गम्भीर छानबिन आवश्यक रहेको बताए । उनले बलियो कथा भएको प्रकरणको झुर फिल्म नबनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
अध्यक्ष चित्रबहादुर केसीले राज्यसत्ताका महत्वपूर्ण ठाउँमा बसेका नै यो प्रकरणमा मुछिएको भन्दै दूधको दूध पानीको पानी हुने गरी छानबिन गरिनुपर्ने बताए । यो विषय टुंग्याएर मात्र संसद्ले आफ्ना काम अगाडि बढाउनुपर्ने उनको धारणा थियो ।