निर्माणाधीन चुकेनी जलविद्युतकाे क्यानल चर्कियो

आइतबार, २४ बैशाख, २०८०
डिजिटल संस्करण

पातारासी गाउँपालिका–१, गडीगाउँस्थित निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको क्यानलको काम गुणस्तरहीन पाइएको हो । नौ सय ९८ किलोवाट बिजुली उत्पादन हुने आयोजनाको क्यानल ठाउँ–ठाउँमा चर्किएको छ ।

आयोजनाको क्यानल गुणस्तरहीन र काम पनि ढिलासुस्ती भएकाले चुकेनी जलविद्युत् सहकारी डुब्ने सम्भावना रहेको स्थानीय रूपा रावतले बताइन् । उनका अनुसार चुकेनी जलविद्युत् सहकारीमार्फत २५ जनाले लालपुर्जा राखेर ६ करोड कृषि विकास बैंकबाट ऋण निकालेका छन् ।

आयोजनाले जुम्लामा देखिएको विद्युत् आपूर्तिको समस्या हल गरी जिल्लालाई नै उज्यालो बनाउने अपेक्षा गरिएको छ । तीन हजार तीन सय २० घरधुरीको सेयर रहेको संस्थामा एक हजार एक स्थानीयले व्यक्तिगत रूपमा झन्डै ९० लाख लगानी गरेका छन् ।

त्यस्तै, वैकल्पिक ऊर्जाले ३० करोडको लगानी गरेको पृथ्वी शाहीले बताए । उनले भने, ‘गुणस्तरहीन क्यानल यहाँको समिति बसेर भत्काउने निर्णय भएको छ । क्यानल धेरै ठाउँमा चर्किएको छ । यसको बिल पनि उठाइएको छैन । पुनर्निर्माण गरिनेछ ।’

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले आयोजनाको काम तोकिएको समयमा सम्पन्न नहुनु दुःखद भएको बताए । आयोजनाको प्याकेज १ को ०७६ जेठ १० मा सम्झौता भएको थियो । यही वैशाखमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम ७० प्रतिशत मात्रै पूरा भएको छ । पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहराले आयोजनामा ढिलासुस्ती गर्नु ठेकेदारकै कमजोरी भएको बताए । उनले स्थानीय कामदार थपेर भए पनि आयोजनाको काम समयमा सम्पन्न गर्नुपर्ने बताए । 

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले आयोजनाको गुणस्तर र ढिलासुस्तीका विषयमा ठेकेदारसँग प्रगति विवरण माग गरिएको बताए । विभिन्न समस्याका कारण काम ढिला भएको आयोजना निर्माणका प्रबन्धक चन्द्र क्षेत्रीले बताए । 

सुझावित समाचार