लमजुङको सुन्दरबजारमा सञ्चालित एचडिसिएस नमुना सामुदायिक अस्पतालमा प्रसूति सेवा निःशुल्क उपलब्ध हुने भएको छ।
सुन्दरबजार नगरपालिकाको स्वास्थ्य शाखाले आवश्यक अनुगमन गरी आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न बिहीबारबाट स्वीकृत दिएको हो। यसअघि चन्द्रेश्वर प्राथमिक स्वास्थ्य केन्द्र, कुन्छा स्वास्थ्य चौकी र सुन्दरबजार अस्पतालमा प्रसूति सेवा उपलब्ध भए पनि यी संस्थाहरूमा सुत्केरी गराउनेको संख्या अत्यन्तै न्यून रहेको थियो।
एचडिसिएस नमुना सामुदायिक अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवासमेत उपलब्ध भएका कारण उक्त संस्थामा अन्य संस्थाहरूले समेत रिफर गर्न सक्ने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाले बताए।
नमुना सामुदायिक अस्पतालका निर्देशक हेमन्त श्रेष्ठका अनुसार अस्पतालमा छुट्टै प्रसूति विभाग र गाइनोलोजिस्ट सेवासमेत उपलब्ध छ । बेँसीसहरमा सुरक्षित प्रसूति सेवालाई प्रभावकारी रूपमा सञ्चालन गरेको एचडिसिएसले नमुना सामुदायिक अस्पतालमा समेत प्रसूति वार्ड व्यवस्थापन गरिसकेको छ।
अस्पतालमा उपलब्ध सेवा सुविधा, वार्डलगायतको अनुगमनपछि स्वास्थ्य शाखाले आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्रदान गरेको हो।