सिराहाको गोलबजार नगरपालिका– १० धर्मपुरस्थित आधारभूत विद्यालयको दुईकोठे नयाँ भवनका लागि तीन दिनअघि खनिएको जग स्थानीय बासिन्दाले शुक्रबार बिहान पुरेका छन्।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत नगरपालिकाको शिक्षा शाखामार्फत २२ लाख ५० हजार रुपैयाँको बजेटमा दुईकोठे नयाँ भवन बनाउन निर्माण समितिमार्फत जग खन्दा आफूहरूसँग कुनै समन्वय नगरेको भन्दै जग पुरेको स्थानीय अनिता लामाले बताइन्। वडाध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रकुमार मुखियाले निर्माणाधीन पुरानो दुईकोठे भवनको काम अलपत्र छाडेर स्थानीय बासिन्दा, अभिभावक तथा राजनीतिक दलका अगुवाहरूसँग सरसल्लाह नै नगरी नयाँ भवनको जग खनेपछि पुर्न बाध्य भएको उनले बताइन्।
शिक्षा शाखाको समन्वयमा काम थालिएकाे हाे : प्रअ
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०७९/८० को बजेट परेपछि नगर शिक्षा शाखासँगको समन्वयमा नयाँ भवनको काम अगाडि बढाइएको विद्यालयका प्रधानाध्यापक मधुराम महतोले बताए। विद्यालय व्यवस्थापन समितिको बैठकमार्फत कार्यक्रमको निर्देशिकाबमोजिम गत माघमा निर्माण समिति गठन गरी प्रक्रिया पुर्याएर नयाँ भवनको काम अघि बढाइए पनि स्थानीयले जग पुरिदिएको प्रअ महतोको दाबी छ।
‘नयाँ भवन बनाउनुको सट्टा निर्माणाधीन भवनकै माथि तला थप्ने गरी स्टिमेट र योजनाबारे पनि शाखासँग सल्लाह भएको थियो,’ उनले भने, ‘तर, आव ०७७/७८ मा १८ लाख रुपैयाँ बजेटमा निर्माण गरिएको दुईकोठे भवनको प्राविधिक मूल्यांकनसहित फर्स्याेट नहुँदा तला थप्न नमिल्ने भएपछि नयाँ भवनको काम अघि बढाइएको हो।’
यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष मुखियाले पवित्र भावनाले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि काम गरिरहेको आफूलाई काम गर्न नदिने प्रपञ्चअन्तर्गत उद्दण्ड काम गरिएको जिकिर गरे। ‘नगरप्रमुखसँग पनि पुरानो भवनमा तला थप्ने विषयमा पटकपटक कुराकानी भयो। फाइल पनि बुझाइयो, तर सरुवा भइसकेका प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गरेको कार्यादेश र सम्झौताअनुसार प्राविधिक मूल्यांकन नहुने प्राविधिकहरूले बताएपछि बाध्य भएर नयाँ भवनको जग खनिएको हो,’ उनले स्पष्टीकरण दिए।
विद्यालय र वडा कार्यालयले गरेको काममा चित्त नबुझे भेटेर कुराकानी, छलफल गर्न सकिने भए पनि विद्यालयको अभिभावक नै नरहेका केही व्यक्तिहरूको अगुवाइमा काम रोक्ने गरी उच्छृंखलता देखाइएकाले आफूहरू कानुनी उपचारमा जाने उनको भनाइ छ। समितिको बैठक बसेर अभिभावक, विद्यार्थीहरूको भेला डाकी कानुनी उपचारको प्रक्रियामा अगाडि बढ्ने उनले बताए।