आगामी बर्खामा कम पानी पर्ने आकलन

शुक्रबार, २२ बैशाख, २०८०
डिजिटल संस्करण

आगामी बर्खायाम कृषिका लागि सकारात्मक नहुने देखिएको छ । बर्खे धानखेती आकासेपानीको भरमा निर्भर छ, तर यस वर्षको बर्खायाममा पूर्व र मध्यनेपालका केही क्षेत्रबाहेकमा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ ।

‘समग्रमा यस वर्ष मनसुन (१८ जेठदेखि १३ असोज)मा कम पानी पर्ने र अधिकतम तापक्रम औसतभन्दा बढी हुने देखिन्छ,’ बिहीबार आयोजित राष्ट्रिय मौसम फोरममा जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले भने, ‘कोसी प्रदेशका मध्य तथा उत्तर–पूर्वी भेग, बागमतीका दक्षिण पूर्वी भेग र मधेसका अधिकांश भूभागमा भने औसत हाराहारी वर्षा हुन सक्छ ।’

विभागले कोसीका पश्चिमी, बागमतीका धेरैजसो, लुम्बिनीका केही भूभाग र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बैतडी तथा बझाङलगायत क्षेत्रमा औसतभन्दा कम पानी पर्न सक्ने आकलन गरेको छ । 

सुदर्शन हुमागाईं, मौसमविद्
अघिल्ला तीन मनसुनमा लानिनाको प्रभाव थियो, यसपटक एलनिनो हुने देखिएको छ । मनसुन सिजनमा सामुद्रिक तापक्रम औसतभन्दा बढी भएर त्यसको असर वायुमण्डलमा पर्छ, वर्षा कम गराउँछ ।

कर्णालीका अधिकांश भूभाग, गण्डकीका धेरै भाग, सुदूरपश्चिमका मध्य तथा उत्तरका थोरै क्षेत्र, लुम्बिनीका पश्चिमी तथा मध्य भूभाग र कोसीका दक्षिण भूभागमा भने त्योभन्दा पनि कम पानी पर्न सक्ने अनुमान छ । वर्षा कम हुने भएपछि सुदूरपश्चिमका पूर्वी र दक्षिणी भूभाग, लुम्बिनीका पश्चिम–उत्तर–पूर्वी भेग, गण्डकीका दक्षिणी तथा मध्य भाग, बागमतीका मध्य तथा दक्षिणी भेग र मधेसका पश्चिम भूभागमा अधिकतम तापक्रम औसतभन्दा बढी हुने ठानिएको छ । 

नेपालले सम्भाव्यतामा आधारित आकलन गर्ने भएकाले कति प्रतिशत वर्षा हुन्छ भनेर भन्दैन । ‘परिणात्मक आकलन गर्न हामीसँग प्रविधि र दक्षता पनि छैन,’ हुमागाईंले भने, ‘अध्ययनअनुसन्धान र प्रविधिको खाँचो हुन्छ । ग्लोबल मोडलले दिने तथ्यांक सहजै पाउन सक्दैनौँ । अन्य मुलुकसँग औपचारिक रूपमा मौसमसँग सम्बन्धित तथ्यांक आदान–प्रदान हुन सकेको छैन ।’ 

नेपालले सन् ०२० देखि विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारूपको आकलन, जल तथा मौसम विज्ञान विभागको मनसुनी वर्षा आकलन गर्ने प्रारूप र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनका आधारमा मनसुनी प्रक्षेपण गर्ने गरेको छ । 
नेपालमा सामान्यतः जेठ अन्तिम साता अर्थात् १३ जुनमा मनसुन भित्रिन्छ भने २ अक्टोबरसम्म रहन्छ । तर, कहिले मनसुन भित्रिन्छ र सुरुवाती अवस्था कस्तो हुन्छ भनेर पनि नेपालले प्रक्षेपण गर्न सकेको छैन । 

यसकारण कम वर्षाको आकलन

विभागले पछिल्ला दुई मनसुनमा औसतभन्दा धेरै वर्षाको प्रक्षेपण गरेको थियो । तर, गत वर्ष भने औसत हाराहारी अर्थात् एक हजार ३३५.२ मिलिमिटर (९७.२%) पानी पर्‍यो । मनसुन लम्बिँदा दसैँताका देशभर पानी परेर धानबाली नष्ट पनि भयो । त्यसभन्दा अघिल्लो बर्खामा एक हजार ६२० मिलिमिटर (११५.५%) वर्षा हुँदा देशभर बाढीपहिरोको कहर भएको थियो । नेपालमा वार्षिक वर्षाको ८०.५ अर्थात् एक हजार ३७४.१ मिलिमिटर वर्षा हुन्छ । अघिल्ला बर्खामा प्रशान्त महासागरमा ‘लानिना’को प्रभाव थियोे । 

यस वर्ष भने ठीक उल्टो छ । मनसुन सिजनमा प्रशान्त महासागरमा एलनिनोको अवस्था विकसित हुने अन्तर्राष्ट्रिय प्रारूपहरूको आकलन छ । ‘अघिल्ला तीन मनसुनमा लानिनाको प्रभाव थियो, यसपटक एलनिनो हुने देखिएको छ,’ मौसमविद् सुदर्शन हुमागाईंले भने, ‘मनसुन सिजनमा सामुद्रिक तापक्रम औसतभन्दा बढी भएर त्यसको असर वायुमण्डलमा पर्छ, वर्षा कम गराउँछ ।’ 

एलनिनो प्रशान्त महागरको भूमध्यीय क्षेत्रमा उसको मौसमी घटनाको नाम हो, सामुद्रिक सतहको तापक्रम सामान्यभन्दा धेरै भएर गर्मी हुन्छ । र, हावा पूर्वतिर बहन्छ । त्यसको असर सामुद्रिक क्षेत्रमा मात्र नभई वायुमण्डलमा पनि पर्छ । एलनिनोको प्रभावले भारत–नेपाललगायतका क्षेत्रमा वर्षा कम गराउने सम्भावना हुन्छ ।

विश्व मौसम संगठनले पनि जुन महिनामा दक्षिण एसियाली मुलुकसहित विश्वका कैयौँ मुलुकमा तापक्रम अधिक भएर गर्मी बढ्न सक्ने आकलन गरेको छ । त्यसको मुख्य कारकका रूपमा एलनिनो हुन सक्ने ठानिएको छ । यसबाहेक महासागरमा विकसित हुने घटनाक्रम, हिउँदसहित ऋतुगत वर्षा, तापक्रम र हिमपातले पनि मनसनुमा असर गर्छ । भारतले पनि त्यहाँको उत्तर–पश्चिम, पश्चिम–मध्यम र पूर्वोत्तरका केही क्षेत्रमा कम वर्षाको आकलन यसअघि नै गरिसकेको छ । 

सुझावित समाचार