किनारामा पारिएका मानिसका मुद्दालाई सामाजिक चिन्तनको मूल धारमा प्रकट गर्ने उद्देश्यले नारायणगढमा ‘चित्तौन कचेहेरी’को आयोजना गरिएको छ।
पत्रकार सम्मेलनको आयोजना गर्दै चित्तौन कचेहेरीको संयोजक एवं उत्सव निर्देशक सरिता तिवारीले चितवनको मुद्दामा केन्द्रित भएर वैशाख २९ र ३० गते फरक शैलीको विचार उत्सव मनाउन लागिएको बताइन्। ‘चित्तौन कचेहेरी’ चितवनका आदिवासी थारूको बोलीचालीको शब्द हो। यसको अर्थ ‘चितवनको बहस’ हुन्छ ।
मन्थन, डबली द स्पेस, दलित युवा जागरण मञ्च नेपाल, बेटर चितवन, युथ पोलिटिकल फोरम र नारायणी कला मन्दिरको संयुक्त आयोजनामा ‘चित्तौन कचेहेरी’ हुन लागेको हो। नारायणगढको नारायणी कला मन्दिरमा हुने ‘चित्ताैन कचेहेरी’लाई आयोजकहरूले ‘विचारको उत्सव’ भनेका छन्।
के–के हुनेछन् ‘चित्तौन कचेहेरी’मा ?
‘चित्तौन कचेहेरी’मा १२ वटा सत्र हुनेछन्। जसमध्ये चितवन उपत्यकामा कसरी बस्तीहरू बसे र कसरी यहाँको सभ्यता विकसित भयो भन्नेबारे मुख्य विषय रहनेछ। विकास–विमर्श, कृषि, रैथाने भाषा–साहित्य, न्यायको लडाइँ, राजनीति, आदिवासी, जात, निकुञ्जलगायतका विषयमा विभिन्न सत्रहरू रहनेछन्।
‘देशमा अपार बौद्धिक सम्पत्ति छ, तर समाजले सबैको आवाज सुनेको छैन,’ पत्रकार सम्मेलनमा तिवारीले भनिन्, ‘हाम्रो प्रयास थुनिएका र चर्को स्वरले निषेध गरेका आवाजहरूलाई चिन्तनको मूलधारमा ल्याउनु हो। त्यसमा पनि जातीय, क्षेत्रीय, लैंगिकलगायतका हिसाबले किनारमा पारिएका मानिसहरूका मुद्दालाई केन्द्रित गरेर समाजका वास्तविक विषय उत्सवमा देखाउनेछौँ। सँगै मान्छेका जीवनमरणका विषय उठान हुनेछ।’