भाषाशास्त्री स्व. महानन्द सापकोटाको १२७औँ जन्मजयन्तीका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ । सापकोटाको जन्म १९५३ मा इलाममा भएको थियो । ३० वैशाखमा उनको जन्मजयन्ती मनाइँदैछ ।
जन्मजयन्तीको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको विचार गोष्ठीमा नेपालसहित विभिन्न देशमा रहेका नेपाली साहित्यकारहरूले स्व. सापकोटाको योगदानको चर्चा गरेका थिए । सापकोटा मदन पुरस्कार, इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, गोरखा दक्षिण बाहुलगायत प्रतिष्ठित राष्ट्रिय पुरस्कार तथा विभूषणबाट सम्मानित भएका थिए । उनी नेपाली भाषा–साहित्यमा मात्र नभई संस्कृति, शिक्षा तथा जनजागरणका अग्रणी व्यक्तित्वका रूपमा स्थापित भएको कार्यक्रममा सहभागीहरूले बताए ।
देवानछाप महानन्द प्रतिष्ठानका अध्यक्ष बृहस्पति खतिवडाले प्रजातान्त्रिक आन्दोलनमा सापकोटाको भूमिका उल्लेख्य रहेको बताए । सापकोटा महात्मा गान्धीको अंग्रेजविरोधी असहयोग आन्दोलनमा समेत सक्रिय सहभागी थिए । उनी नेपालमा मात्र नभई भारतको प्रतिष्ठित दुलीचन्द स्वर्ण पदकबाट समेत विभूषित छन् । उनका डेढ दर्जन कृति तथा लेखरचना प्रकाशित छन् ।