राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विश्वमा बढ्दै गएको द्वन्द्वका कारण पनि गौतम बुद्धका सन्देश महत्वपूर्ण हुँदै गएको बताएका छन्।
कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनलाई सम्मानित गर्ने विशेष कार्यक्रममा विशिष्ठ अतिथिको रूपमा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले बुद्धका सन्देश शान्ति स्थापनाका लागि अझ बढी सान्दर्भिक र महत्वपूर्ण भएको बताएका हुन्।
‘गौतम बुद्धले देखाउनुभएको शान्ति र अहिंसाको बाटोका कारण बौद्ध धर्मका अनुयायीहरू विश्वभर बढ्दो छन्,’ उनले भने, ‘विश्वभर बढ्दै गरेको द्वन्द्वको कारण पनि गौतम बुद्धका सन्देशहरू अझ बढी सान्दर्भिक र महत्वपूर्ण भएका छन्।’

उनले द्वन्द्वले सामाजिक शान्ति र सद्भावमा पार्ने गहिरो क्षति अतुलनीय हुने भएकाले द्वन्द्वलाई शान्तिमा बदल्न तीव्र इच्छा र समर्पणको आवश्यकता पर्ने बताए ।
समाजलाई द्वन्द्वबाट शान्तिमा रुपान्तरण गर्न, सामाजिक मेलमिलापका आधारहरू खडा गर्न बौद्ध धर्मले महत्वपूर्ण मार्गदर्शन प्रदान गर्ने उनको भनाइ छ ।
उनले गौतम बुद्धको जन्मथलो भएकाले नेपाल बौद्ध धर्मावलम्बीहरूको लागि महत्वपूर्ण गन्तव्य भएको बताए । गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेकाले नेपाल र कम्बोडियाबीच सीधा हवाइ सम्पर्क स्थापित गर्न सके बौद्ध धर्मावलम्बीहरूको लुम्बिनी यात्रा अझै सहज हुने उनले विश्वास व्यक्त गरे ।
नेपाल शान्ति प्रक्रियाको अन्तिम चरणमा रहेको चर्चा गर्दै उनले द्वन्द्वलाई परास्त पार्दै नेपाल शान्ति र समृद्धिको बाटोमा लम्किएको पनि बताए ।