लघुवित्तबाट ऋण लिएका कृषकलाई स–सानो पुँजी संकलन गरेर स्वरोजगार प्रवद्र्धन र बचत विकासमा कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने जानकारी दिने उद्देश्यले भैरहवामा प्रशिक्षण दिइएको छ । लघुवित्तविरुद्ध आन्दोलनका कार्यक्रम निरन्तर भएपछि नेपाल लघुवित्त बैंकर्स संघले साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
नेपाल लघुवित्त बैंकर्स संघका कोषाध्यक्ष एवं उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यकारी प्रमुख प्रेमबहादुर पाठकले ऋणी कृषकहरूले कर्जाको महत्व बुझेपछि र स्वरोजगार प्रवद्र्धन तथा बचत विकासबारे थाहा पाएपछि कर्जा विचलन तथा लघुवित्तविरुद्ध आन्दोलन गर्नेहरूले वास्तविकता थाहा पाउने जानकारी दिए ।
कार्यक्रममा रुपन्देहीका करिब एक हजार लघुवित्त बचकर्ता, ऋणीलगायतलाई साक्षरता दिइएको उनले बताए । पछिल्लो समय लघुवित्तले चर्को ब्याज लिएको र आफूहरूले तिर्न नसक्ने भन्दै केही ऋणीहरूले आन्दोलनका कार्यक्रम गरिरहेपछि लघुवित्त बैंकर्स संघले सरोकारवाला निकायहरू सहभागी गराएर प्रशिक्षण तथा साक्षात्कार गराउन सुरु गरेको छ । रुपन्देहीमा करिब दुई हप्तादेखि केही ऋणीले आन्दोलनका कार्यक्रम गरिरहेका छन् । लघुवित्तविरुद्ध आन्दोलनका कार्यक्रम निरन्तर भएपछि नेपाल लघुवित्त बैंकर्स संघले साक्षरता कार्यक्रम गरेको हो ।
कार्यक्रममा सहभागीहरूले लघुवित्तीय संस्थाहरूको संरक्षणमा सबैको समान दायित्व रहेको बताएका थिए । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरूविरुद्ध आन्दोलन भइरहेको जनाउँदै विगतमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी गाउँ–गाउँमा यस्ता संस्थाले पुर्याएको योगदान बिर्सन नहुने सहभागीहरूले जोड दिएका थिए ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले दिदीबहिनीको रकम तथा ग्रामीण क्षेत्रमा रहेका स–साना पुँजीहरू संकलन गर्ने, बचतको विकास गर्ने, लगानी गर्ने र स्वरोजगार कार्यक्रममा टेवा पुर्याउने काम लघुवित्तले गर्दै आएको बताउँदै यस्ता संस्थालाई संरक्षण गरी प्रभावकारी ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले लघुवित्तविरुद्ध आन्दोलनका कार्यक्रमहरू भइरहेका छन् । कर्मचारीहरूलाई विभिन्न धम्की आइरहेको जानकारीमा आएको छ । यसलाई रोकेर समाधानको बाटोमा जानुपर्छ ।’
नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखाका निर्देशक सत्येन्द्रराज सुवेदीले लघुवित्तहरूले आफ्ना ग्राहक सदस्यलाई वित्तीय सेवा प्रदान गर्ने गरेको जनाउँदै यसबाट कैयौँ ग्रामीण बस्तीका सर्वसाधारण लाभान्वित भएको बताए । लघुवित्तले नियमविपरीत चर्को ब्याज लिएको भए राष्ट्र बैंकले नियमन गर्ने, तर ऋण लिएर तिर्दैनौँ भन्नु सही नभएको उनको भनाइ थियो ।
सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले चर्को ब्याजले केही समस्या निम्तिए पनि ऋण लिएपछि तिर्नुपर्छ भन्ने मान्यता राख्नुपर्ने बताइन् । लघुवित्तहरूले ग्रामीण भेगका गाउँ–गाउँमा पुगेर आमनागरिकलाई वित्तीय संस्था प्रदान गरिरहेको र नेपालमा जति पनि लघुवित्तहरूले विशेष गरेर विपन्न महिलालाई जीविकोपार्जनका लागि कार्यक्रम चलाइरहेको उनको भनाइ थियो ।
नेपाल लघुवित्त बैंकर्स संघका कोषाध्यक्ष एवं उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यकारी प्रमुख प्रेमबहादुर पाठकले लघुवित्तप्रति बाहिर आएका कुराहरू सत्य नभएको बताए । न्यूनतम ब्याजदरमा ग्रामीण बस्तीहरूमा सेवा पुर्याएका संस्थालाई प्रवद्र्धन र संवद्र्धन गर्नुपर्नेमा जोड दिँदै चर्को ब्याज लिएर ऋणीलाई उठीबास लगाए भन्ने कुरामा कुनै सत्यता नरहेको उनको दाबी थियो ।