नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले ११ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुवेतको सामना गर्दै छ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले एसिसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । यी दुई टोलीबीच अन्तिमपटक सन् २०१२ को एसिसी इलाइट ट्रफीमा प्रतिस्पर्धा भएको थियो । जसमा कुवेतले नेपाललाई चार विकेटले हराएको थियो । एक दशकपछि कुवेतसँग खेल्दा नेपाल धेरै अनुभवी टोली बनिसकेको छ । यसबीच नेपाल एकदिवसीय मान्यताप्राप्त राष्ट्र बनिसकेको छ ।
कुवेत भने आइसिसी टी–२० राष्ट्र मात्र हो । त्रिवि मैदानमा हुने नेपाल र कुवेतबीचको खेलले एकदिवसीय मान्यता प्राप्त गरेको छैन । यस कारण यस खेलमा व्यक्तिगत तथा राष्ट्रका नाममा रहने रेकर्ड दर्ता हुनेछैन । एसिसी प्रिमियर कपको समूह ‘ए’को विजेता हुँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । कुवेतले समूह ‘बी’को अन्तिम खेलमा हङकङलाई स्तब्ध पार्दै उपविजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको हो । प्रतियोगिताका विजेताले यसै वर्ष पाकिस्तानमा हुने एसिया कपको समूह ‘ए’मा छनोट हुँदै पाकिस्तान र भारतविरुद्ध प्रतिस्पर्धा गर्न अवसर प्राप्त गर्नेछ । शीर्ष तीन स्थानमा रहने टोलीले एसियाका एकदिवसीय राष्ट्रहरूको ‘ए’ टोलीसँग प्रतिस्पर्धाको अवसर प्राप्त गर्नेछन् ।
सेमिफाइनलमा प्रवेश गरेका थप दुई टोली युएई र ओमानले मूलपानीमा खेल्नेछन् । एसिया कपको अनुभव बटुल्न यी चारै राष्ट्रलाई दुई जित आवश्यक छ । सहभागीमध्ये घरेलु टोली नेपाल उपाधिको प्रमुख दाबेदार हो । यद्यपि, कुवेतलाई कम आँक्न मिल्दैन । प्रतियोगितामा कुवेत बिस्तारै ‘अन्डर डग’का रूपमा स्थापित भएको राष्ट्र हो । कुवेतको बलिङ र ब्याटिङ पछिल्लो समय उत्कृष्ट हुँदै आएको छ । त्यहीँ नै नेपालले समूह चरणको अन्तिम खेलमा कतारसँग ब्याटिङमा संघर्ष गर्नुपरेको थियो । कतारसँगको खेलबाहेक नेपालको प्रदर्शन उत्कृष्ट रह्यो ।
बलिङ, ब्याटिङ र फिल्डिङमा नेपाली खेलाडीको प्रदर्शन हेर्नलायक थियो । भारतीय नागरिक मोन्टी देसाईको आगमनपछि नेपाली टोलीले त्रिवि मैदानमा आफ्नो अपराजित यात्रा राखेको छ । यसै अपराजित यात्रासँगै नेपालको मुख्य लक्ष्य नै च्याम्पियन बन्दै एसिया कप खेल्नु हुनेछ । नेपालका मुख्य प्रशिक्षक देसाई पनि पछिल्ला खेलको नतिजा बिर्सेर कुवेतविरुद्ध प्रदर्शन गर्ने बताउँछन् । ‘हामी अगाडि बढ्न कतारसँगको खेल बिर्सनुपर्छ,’ कतारलाई ६८ रनले पराजित गरेपछि देसाईले भनेका थिए ।
कतारविरुद्ध नेपाल ब्याटिङमा निरीह बनेको थियो । माथिल्लो क्रमका ब्याट्सम्यानबीच ठूलो साझेदारी हुन सकेन । भरपर्दा शीर्ष र मध्यक्रमका ब्याट्सम्यान कतारको धारिलो बलिङअगाडि लामो समय क्रिजमा टिक्नै सकेनन् । यद्यपि, बलरका लागि उपयुक्त मानेको पिचमा १०औँ नम्बर क्रिजमा आएका सन्दीप लामिछानेले अविस्मरणीय इनिङ्स खेले ।
इनिङ्सको २७.६ ओभरमा नेपाल १११–९ को नाजुक स्थितिमा थियो । सन्दीप र ललित राजवंशीले १०औँ विकेटका लागि सर्वाधिक ४६ रनको साझेदारी गर्दै नेपाललाई एक सय ५७ रनको सम्मानजनक योगफलसम्म पुर्याए । ‘यदि हामी अगाडि बढ्ने हो भने साझेदारीमै ध्यान दिनुपर्छ,’ देसाई भन्छन् ।
विश्वकप लिग–२ देखि लयमा
यो दुई महिनामा नेपाली खेलाडीले माथिल्लो स्तरको प्रदर्शन गरिरहेका छन् । एकदिवसीय मान्यताप्राप्त पछिल्ला १२ मध्ये ११ खेलमा नेपालले विपक्षीलाई पाखा लगाएको थियो । आइसिसी विश्वकप लिग–२ मा यही प्रदर्शनकै आधारमा नेपालले जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटको स्थान पक्का गर्यो । कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ गरिरहेका छन् । उनीहरू खासै लयमा नरहँदा पनि नेपालका मध्यक्रमका ब्याट्सम्यानले इनिङ्स सम्हालेका छन् । भीम सार्की, कप्तान रोहितकुमार पौडेल, कुशल मल्लसहित मध्यक्रमका सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । कुवेतविरुद्ध यी खेलाडीसहित अन्य खेलाडीबाट प्रशिक्षक देसाईले ठूलो साझेदारीको अपेक्षा राखेका छन् ।
अर्कोतिर कुवेत फेरि अर्काे अप्रत्याशित नतिजा निकालेर इतिहास रच्ने योजनामा छ । हङकङविरुद्ध अप्रत्याशित नतिजा निकाल्दै कुवेती खेलाडी हौसिएका छन् । कुवेतले हङकङलाई ३० रनले पराजित गर्यो । हङकङविरुद्ध कुवेतका सिराज खान र उस्मान पटेलले अर्धशतकीय इनिङ्स खेलेका थिए । नेपालले सिराज र उस्मानसँगै अदनान इद्रिस, रभिजा सान्दरुवान, पर्भिन्दर कुमार, कप्तान मोहम्मद अस्लामजस्ता ब्याट्सम्यानलाई रोक्ने रणनीति बनाएको छ ।
हेड टु हेडमा नेपाल बलियो
नेपाल र कुवेतबीच अहिलेसम्म तीन खेल भएका छन् । हेड टु हेडमा नेपाल बलियो स्थितिमा छ । नेपालले दुई तथा कुवेतले एक खेल हात पारेको रेकर्ड छ । सन् २००८ को एसिसी ट्रफीमा नेपाल र कुवेतको पहिलो भेट भएको थियो । मलेसियामा भएको खेलमा नेपाल सात विकेटले विजयी भएको हो । यस खेलमा नेपालमा पारस खड्का, शरद भेसवाकर तथा मेहबुब आलम र शक्ति गौचनले उत्कृष्ट प्रदर्शन गरेका थिए । हाल चारै खेलाडी टोलीमा छैनन् ।
दोस्रो भेट सन् २०१० मा कुवेतमै भएको थियो । एसिसी ट्रफी इलिटमा नेपालले घरेलु टोलीलाई आठ विकेटले हराएको हो । तेस्रो तथा अन्तिम भेट सन् २०१२ मा युएईमा भएको थियो । पारस खड्काले शतकीय इनिङ्स खेले पनि नेपाल चार विकेटले पराजित भएको थियो ।
मूलपानीमा पहिलो अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल
मूलपानीको माथिल्लो क्रिकेट मैदानमा पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले एसिसी प्रिमियर कपको दोस्रो सेमिफाइनल खेललाई मान्यता दिएको हो । ओमान र संयुक्त अरब इमिरेट्स (युएई) फाइनल प्रवेशका लागि आज प्रतिस्पर्धा गर्दै छन् । मूलपानीको माथिल्लो मैदानमा पछिल्ला १० खेल आयोजना भएका छन् । एकदिवसीय मान्यताप्राप्त राष्ट्रबीच प्रतिस्पर्धी नभएका कारण ती खेललाई मान्यता दिएको थिएन । यसै प्रतियोगिताअन्तर्गत साउदी अरेबिया र नेपालबीचको एकदिवसीय खेल मूलपानी मैदानमा भएको थियो ।
मूलपानी मैदान एकदिवसीय मान्यताप्राप्त गर्ने कीर्तिपुरपछि नेपालको दोस्रो मैदान हो । यसै प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले यो मैदानमा पुनर्निर्माण गरेको थियो । जहाँ अन्तर्राष्ट्रियस्तरको पेभिलियन, बाउन्ड्री लाइन, दुई स्क्रिन, डे«सिङ रुमलगायत अत्यावश्यक मापदण्ड पूरा गरिएको छ । एसिसी प्रिमियर लिगमार्फत नै मूलपानी मैदानले पहिलो अन्तर्राष्ट्रिय खेल पाएको थियो । पहिलो अन्तर्राष्ट्रिय खेलमा सिंगापुर र हङकङले प्रतिस्पर्धा गरेका थिए ।