यी हुन् १० भन्दा बढी बैठकमा अनुपस्थित हुने पाँच सांसद

शुक्रबार, १५ बैशाख, २०८०
डिजिटल संस्करण
यी हुन् १० भन्दा बढी बैठकमा अनुपस्थित हुने पाँच सांसद

फाइल तस्बिर

कर्तव्य ज्यान मुद्दामा फरार एमाले सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर शुक्रबारको प्रतिनिधिसभा बैठकमा चर्काचर्की भयाे। बैठकमा सभामुख देवराज घिमिरेले सांसद कोइरी स्वास्थ्योपचारमा रहेका कारण बैठकमा अनुपस्थित रहेको जानकारी गराएपछि सांसदहरुले आपत्ति जनाए।

फरार अवस्थामै महोत्तरी १ बाट चुनाव जितेका कोइरी अदालतको आदेशले थुनामा हुनुपर्ने भएपनि माननीयको हैसियतमै छन्। संविधानको धारा ८९ (घ)मा सदनलाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहने सांसदको स्थान रिक्त हुने व्यवस्था छ । तर, कोइरी २१ वटा बैठकमा अनुपस्थित भइसकेका छन्।

प्रतिनिधिसभा नियमावलीको नियम २१३ मा अस्वस्थ वा काबुबाहिरको परिस्थितिमा लगातार १० वटा बैठकमा अनुपस्थित रहनुपर्ने भएमा अग्रिम सूचना सभामुखमार्फत सदनलाई दिनुपर्ने व्यवस्था छ । कोइरीले पद जोगाउन इमेलमार्फत अस्वस्थ रहेको सूचना दिएका बताइएकाे छ।

त्यसो त कोइरीसहित अन्य चार सांसद पनि १० भन्दा धेरै पटक बैठकमा अनुपस्थित भइसकेका छन्। मनोरमा शेरचन सबैभन्दा धेरै २९ बैठकमा अनुपस्थित छिन्। त्यसैगरी, विनाकुमारी थनैत र वर्षमान पुन २६ तथा डा.चन्द्रकान्त भण्डारी १८ वटा बैठकमा अनुपस्थित छन्।

सबैले स्वास्थयोपचारमा रहेकाले अनुपस्थित भएको कारण संसद सचिवालयमा जानकारी गराएका छन्। तर, कोइरीमाथि फौजदारी अभियोग लागेको र प्रहरीको फरार सूचीमा रहेकाले उनलाई सभामुखले बिरामी भनेकोमा सांसदहरुले आपत्ति जनाएका हुन्।

सुझावित समाचार