अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठकी छोरी वेदा सतशा श्रेष्ठ परिवारको व्यवसायमा प्रवेश गरेको ६ वर्ष भयो । उनी अस्ट्रेलियाबाट ह्युमन रिसोर्स म्यानेजमेन्टमा ग्य्राजुुएट गरेर अग्नि ग्रुपकै ह्यमुन रिसोर्स विभाग सम्हाल्न आइपुगेकी हुन् ।
विश्वविद्यालयको पढाइ सकेर उनले तीन महिना अस्ट्रेलियामै ह्युमन रिसोर्स विभागमा काम गरिन् । भारतमा तीन महिना महिन्द्रा एन्ड महिन्द्रा कम्पनीमा काम गरिन् भने जापान पुगेर तीन हप्ताको ह्युमन रिसोर्स म्यानेजमेन्टको तालिम पनि लिइन् ।
विदेशको पढाइ र त्यहाँ सिकेको अनुभव प्रयोग गरी अग्नि ग्रुपको ह्युमन रिसोर्स विभागलाई ‘वल्र्ड’ क्लास बनाउने उनको अठोट छ । तर, यसबीचमा कोभिड महामारी फैलिँदा उद्योग व्यवसायदेखि समग्र अर्थतन्त्र नै थला पर्यो । कोभिडले थलिएको अर्थतन्त्र तंग्रिन नपाउँदै आन्तरिक तथा बाह्य कारणहरूले फेरि मन्दीको सामना गर्नुपर्यो । उद्योग व्यवसायमा देखिएको ‘संकट मोचन’का लागि कसरी काम हुँदै छ भनेर श्रेष्ठसँग नयाँ पत्रिकाले गरेको कुराकानी :
कोभिडपछि देश आर्थिक मन्दीको चपेटामा परेको छ । आन्तरिकदेखि रुस–युक्रेन युद्धसम्म मन्दीको कारक बनेको छ । बजारमा तरलता अभाव, चर्को ब्याजदर, मागमा गिरावटलगायत समस्या देखिएका छन् । मन्दीले व्यवसायमा के–कस्ता समस्या देखिएका छन् ?
कोभिड महामारीपछि नेपालमा मात्र नभई विश्वभर नै व्यापार व्यवसायमा धेरै किसिमका समस्या तथा चुनौती देखा परेका छन् । मन्दीले उपभोक्ताको क्रयशक्ति घटेको छ, जसको प्रभाव सीधै बजारमा परेको छ । बैंक तथा वित्तीय संस्थाहरूले तरलता संकटका कारण कर्जा लगानी गर्न सकेका छैनन् । यही समय ब्याजदर पनि बढेर दोब्बर पुगेको छ । सबैभन्दा धेरै संकटमा अटोमोबाइल व्यवसाय परेको छ । उत्पादनमूलक र अन्य व्यापारिक क्षेत्र पनि मन्दीको मारमा छ ।
बैंकबाट कम (सस्तो) ब्याजदरमा सहज कर्जा उपलब्ध नहुँदा सवारीसाधनको बिक्रीमा कमी आएको हो । सरकारले १० महिना लामो निर्यात प्रतिबन्धले अटोमोबाइल र अन्य व्यवसाय क्षेत्रमा नकारात्मक असर पारेको छ । मन्दीले व्यवसायीहरूका लागि धेरै कठिन समय सिर्जना गरेको छ ।
भनिन्छ, संकटले नयाँ अवसर पनि सिर्जना गर्छ । कोभिडले सिर्जना गरेको संकटलाई नयाँ अवसरमा बदलेर अगाडि बढ्ने प्रयास गरिरहेकी छु । यसै बदलावको समयलाई मध्यनजर राख्दै ‘लियन अप्रेसन मोडेल’ लागू गर्न अग्रसर छौँ ।
बजारमा तरलता अभाव हुँदा समस्या अझ जटिल भइरहेको छ । धेरैजसो उत्पादनमूलक क्षेत्रमा गिरावट आएको छ । अटोमोबाइल व्यवसाय फाइनान्सिङको अभावले चरम समस्यामा छ । यस्तै, अटोकर्जामा जोखिम भार ७५ प्रतिशतबाट बढाएर १५० प्रतिशत पुर्याइनु, लोन टु भ्यालु रेसियो ५० प्रतिशतमा झारिनु, उच्च कर, चर्को ब्याजदरजस्ता समस्याले ग्राहकको मागमा कमी आएको छ । यो समय व्यावसायिक क्षेत्रका लागि निकै कठिन रहेको हामीले महसुस गरेका छौँ । मन्दीको असर हाम्रा कम्पनीमा पनि परेको छ ।
अहिलेको संकटबाट पार पाउनका लागि कस्तो योजना बनाएर काम गरिरहनुभएको छ ? परिवारको व्यवसायलाई कसरी सघाइरहनुभएको छ ?
जहिल्यै संकटको समयले परिवर्तन, समयानुसार अनुकूल वातावरण सिर्जना तथा कार्यमा लचकताको आवश्यकता दर्साउँछ । तथापि, पछिल्ला केही वर्षयता हामीले संकट व्यवस्थापनलाई एक महत्वपूर्ण पाठ सिक्ने अवसरको रूपमा लिएका छौँ । हामीले हाम्रो कार्यविधि र सिस्टममा बदलाव ल्याएसँगै हाम्रो कार्यदक्षता, कार्यशैली तथा व्यावसायिक वातावरणमा पनि सुदृढीकरण भएको छ ।
म अग्नि समूहको व्यवसायसँग जोडिएको ६ वर्ष भयो । यसबीचमा देखिएका धेरै चुनौती सामना गर्दै अझ दृढताका साथ काम गर्ने प्रेरणा पाएकी छु । भनिन्छ, संकटले नयाँ अवसर पनि सिर्जना गर्छ । संकटलाई नयाँ अवसरमा बदलेर अगाडि बढ्ने प्रयास गरिरहेकी छु । यसै बदलावको समयलाई मध्यनजर राख्दै ‘लियन अप्रेसन मोडेल’ लागू गर्न अग्रसर छौँ । यो भनेको लागत कटौती गर्दै अधिक कुशलतापूर्वक व्यवसाय सञ्चालनको रणनीति हो । र, यसका लागि आवश्यक गृहकार्य र तयारीमा जुटेका छौँ ।
तपाईं व्यवसायमा प्रवेश गरेको केही वर्षमै कोभिड महामारी सुरु भयो । त्यसयता व्यावसायिक क्षेत्रले चरम मन्दीको सामाना गरिरहनुपरेको छ । यो संकटले तपाईंलाई के सिकायो ?
कोभिड महामारी सिंगो मानव जातिकै लागि चुनौती बन्यो । एक्कासि विश्वभर फैलिएको महामारी केही समयमै हराउनेछ भन्ने अपेक्षाविपरीत वर्षौं लम्बियो । अहिले पनि कोभिड महामारी पूर्णतः हराइसकेको छैन । कोभिड महामारी व्यक्तिगत एवं व्यावसायिक जगत्का लागि निकै बोझिलो र चुनौतीपूर्ण साबित भयो । तीन वर्ष बितिसक्दा पनि महामारीले थलिएको उद्योग व्यवसाय लयमा फर्किन सकेको छैन । उल्टै नयाँ–नयाँ संकट सिर्जना भइरहेको छ ।
बजारमा तरलता अभाव र चर्को ब्याजका कारण समस्या अझ जटिल भइरहेको छ । धेरैजसो उत्पादनमूलक क्षेत्रमा गिरावट आएको छ । अटोमोबाइल व्यवसायमा सहज फाइनान्सिङ नहुँदा चरम समस्यामा छ ।
सरकारी नीतिमा भइरहने निरन्तर परिवर्तन (अस्थिर नीति) तथा परस्पर भइरहेको विश्व संकटले नेपालको आर्थिक बजार झनै अस्थिर बनेको छ । यहीबीचमा रुस–युक्रेन युद्धले थप संकट निम्त्यायो । यो युद्धका कारण सिंगो विश्व नै मन्दीको मारमा परेको बताइन्छ ।
यस्तो कठिन समयमा पनि हामी निकै उत्प्रेरित, दृढ र बलिया छौँ भन्ने थाहा पाएँ । हामी नेपाली छिटै अर्थतन्त्र लयमा फर्किने र जनजीवन सहज बन्ने विश्वासमा छौँ । निजी क्षेत्र पनि उद्योग व्यवसाय कसरी हुन्छ लयमा फर्काउन निरन्तर प्रयासरत छ । हामी पनि आफ्नो व्यवसायलाई संकटबाट पार लगाउन प्रयासरत छौँ । उद्योग व्यवसाय लयमा फर्किनेबित्तिकै अर्थतन्त्रले पनि ट्र्याक समाउन थाल्नेछ ।
हामी हरेक सामाजिक तथा आर्थिक चुनौती र परिवर्तनलाई सहर्ष स्वीकार गर्दै अगाडि बढिरहेका छौँ । विशेषगरी, नयाँ पुस्ता जन्मदेखि नै राजतन्त्रको पतन, दश वर्ष लामो द्वन्द्वकाल, ०७२ को भूकम्प, भारतले लगाएको आर्थिक प्रतिबन्ध (नाकाबन्दी) तथा छिटोछिटो बदलिने सरकारले गर्दा अस्थिर वातावरणमा हुर्किएका छौँ । हामी त्यो समयमा पनि दृढ र बलियो थियौँ र अबको समयमा पनि सोही मनोवृत्ति कायम राख्दै दोब्बर लगनका साथ अर्थतन्त्र सुदृढीकरणमा लागिपर्नेछौँ ।