३ प्रश्न

शुक्रबार, १५ बैशाख, २०८०
डिजिटल संस्करण

८० हजारमध्ये आधा प्रहरी दरबन्दीबाहिर रहँदा संगठनलाई कस्तो असर गर्छ ?
प्रहरी संगठन प्रक्रियासँग जोडिएको हुन्छ । प्रक्रिया पारदर्शी नभएमा यो अवरुद्ध हुन्छ । खासगरी राजनीतिक र सांगठनिक नेतृत्वले सरुवाबढुवामा नीति, नियम र मापदण्ड पालना नगरी ‘आफ्ना’ मान्छेलाई फेबर गर्न काजमा खटाउने चलन छ । यसले संगठनभित्र प्रशासनिक बेथिति निम्त्याउँछ ।

कर्मचारीको सरुवाबढुवा राजनीतिक फेवरका आधारमा नभई वृत्ति विकास र पारदर्शी प्रक्रियामा आधारित हुनुपर्छ । नियमावलीले दिएको अधिकारअनुसार प्रहरी प्रमुखले गर्ने सरुवामा पनि राजनीतिक हस्तक्षेप हुने गर्छ । यस्तो हस्तक्षेपलाई अस्वीकार गर्ने प्रहरी प्रमुखको ल्याकत र तागत भएन । नेतृत्वको निरीहताको परिणामस्वरूप संगठनभित्र विभिन्न विकृति भित्रिएका हुन् ।

नयाँ आजिपीले सुरु गरेको काज विकृति रोक्ने अभियान कति सफल होला ?
मज्जाले सफल हुन सक्छ । तर, यसको सफलता नेतृत्वको आँटमा निर्भर हुन्छ । नेतृत्वले आँट्दा यो सम्भव हुन्छ । अन्यथा यसै भन्न सकिन्न । संगठनलाई विभिन्न ‘इन्ट्रेस्ट’अनुसार होइन, स्थापित मापदण्डअनुसार चलाउने आँट गर्ने हो भने कसैले पनि दबाब दिन या हस्तक्षेप गर्न सक्दैन । 

प्रहरीभित्रको विकृति कसरी रोक्न सकिएला ?
प्रहरी संगठनभित्रको प्रणाली दोषी छैन । यसलाई परिचालन गर्ने नेतृत्वले आँट गर्ने हो भने कुनै पनि विकृति आफैँ रोकिन्छ । यसमा द्विविधा छैन । तर, यहाँ त नेतृत्व आफैँले हस्तक्षेपलाई आमन्त्रण गर्ने चलन छ । अनि, कसरी रोकिएला र विकृति ?

सुझावित समाचार