गर्मी मौसममा जाडोको दाँजोमा युवापुस्ता ज्यादा फेसनेबल रहन रुचाउँछन् । त्यसैले यस सिजन नयाँ–नयाँ फेसन ट्रेन्ड भित्रिन्छ । अहिले लुज फेसन, ‘अल ह्वाइट ड्रेस’, कट अफ ड्रेसलगायत धेरैको रोजाइमा छ । सन् २००७/००८ तिर पनि यस्तै फेसन ट्रेन्डिङमा थियो । स्लिम हाफ वान पिसले पनि स्थान पाइरहेको छ । पछिल्लो समय गर्मी मौसममा अधिकांश युवती विदेशी ‘आउटफिट’मा हिँड्न रुचाउने फेसन कोरियोग्राफर रोजिन शाक्य बताउँछन् । उनी भन्छन्, ‘नेपालमा १६–३० उमेरसमूहका मानिस बढी फेसनेबल देखिन चाहन्छन् । विशेषगरी, पहिरनको छनोट आफ्नो पेसा, उमेर र अवसरअनुसार गरिन्छ । आजकलका युवायुवती विदेशी आउटफिट, त्यसमा पनि विशेषगरी कोरियन तथा पश्चिमा डिजाइनका कपडामा आकर्षित भएको देखिन्छ ।’ बोल्ड तथा ग्ल्यामर देखिन क्वार्टर, फिटिङ पेन्ट, एंकल लेन्थ पेन्ट, युनिसेक्स पाइन्ट अधिकांशको रोजाइमा छ ।
प्रविधिको विकाससँगै फेसनेबल देखिने युवायुवतीको संख्या बढ्न थालेको शाक्यको बुझाइ छ । सामाजिक सञ्जालले गर्दा पनि युवापुस्तामा ड्रेस छनोटमा परिवर्तन देखिन्छ ।
प्रविधिको विकाससँगै फेसनेबल देखिने युवायुवतीको संख्या बढ्न थालेको शाक्यको बुझाइ छ । ‘सामाजिक सञ्जालले गर्दा पनि युवापुस्तामा ड्रेस छनोटमा परिवर्तन देखिन्छ,’ उनी भन्छन्, ‘अहिले ह्वाइट स्लिम फिट जिन्स पनि चल्तीमा छ । यसको सट्टामा कार्बाे पाइन्ट पनि रोजाइमा छ ।’ फेसन डिजाइनर रोविन परियार ‘मिक्स एन्ड म्याच’ शैलीकोे फेसन चलिरहेको बताउँछन् । खासगरी, शरीरसुहाउँदा पहिरन प्राथमिकतामा छन् । विवाह, विशेष समारोहमा मात्रै नभएर अरू वेला पनि फेसन डिजाइनरले तयार गरेका स्टाइलिस पोसाक लगाउन थालिएको छ,’ उनले भने ।
फेसन डिजाइनर नवीन लुइँटेलका अनुसार कम बुट्टा भरिएका र हल्का रङका कपडातर्फ युवाको ध्यान बढ्दो छ । विशेष समारोहमा साडी, कुर्ता, कुर्ती, लेहेंगा नै सदावहार छन् । त्यस्तै, वानपिस र गाउनले पनि स्थान पाइरहेका छन् । ‘अहिलेका युवायुवती पुरानै चल्तीका पोसाकलाई नयाँ स्टाइल दिएर लगाउन रुचाउँछन् । फेसन कन्सियस भएका छन्,’ लुइँटेलले भने ।
‘फेसनेबल’ बन्ने नाममा शरीरलाई असर पर्ने खालका पहिरन लगाउन नहुने फेसन डिजाइनर रोजिना श्रेष्ठ बताउँछिन् । ‘हामीले बजारमा चलेको ट्रेन्डसँगै आफूलाई कम्फर्टेबल महसुस हुने कपडा छान्नु राम्रो हुन्छ । यो मौसममा मानिसको शरीरबाट धेरै पसिना बग्छ । कतिपयमा छाला चिलाउने, एलर्जी हुनेलगायत समस्या पनि देखिन्छ । त्यसैले जिउमा अति नै टाइट हुने कपडाले थप समस्या निम्त्याउन सक्छ,’ उनले भनिन्, ‘कटन, खादी, लिनेन, सिफन, रियनको हल्का लुज कपडाले आरामदायी महसुस गराउनुका साथै फेसनेबल पनि देखाउँछ ।’
यस मौसममा किशोरीहरूको रोजाइमा स्कर्ट, वानपिसलगायत पहिरन पर्ने गरेको उनी बताउँछिन् । ‘आजकल क्याजुअल वेयरमा किशोरीहरूले लुज फेसन गर्छन् । ओभरसाइज टाइपको टिसर्ट, ओभरसाइज सर्ट, ओभरसाइज जिन्स मन पराउँछन् । बेली बटन अहिले फेरि फेसनमा आएको छ,’ उनले भनिन्, ‘स्कर्ट, वानपिसलगायत पहिरन पनि यस समय धेरैको रोजाइमा पर्छ । कटनको कुर्थी जिन्समा लगाउँदा युवतीहरूले सहज महसुस गर्छन् । यसले स्मार्ट पनि देखाउँछ ।’