अपांगता भएका महिलालाई सक्षम बनाउँदै सबु

मंगलबार, १२ बैशाख, २०८०
डिजिटल संस्करण
अपांगता भएका महिलालाई सक्षम बनाउँदै सबु

बत्तीसपुतलीस्थित ‘वी नेपाल’ संस्थामा सीप सिक्दै अपांगता भएका महिला । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

भूकम्पमा श्रीमानकाे खुट्टा गुमाएपछि समाजसेवामा लागेकी सबु पौडेल जसले अपांगता भएका महिलालाई रोजगारी र तालिम दिन्छिन्

सबु पौडेल १२ वैशाख ०७२ को भूकम्पमा प्रत्यक्ष घाइते वा अपांग त भइनन्, तर उनले भूकम्पमै कैयौँ अपांगता भएकाहरूको जीवनमा उज्यालो ल्याइदिएकी छिन् । काठमाडौंको बत्तीसपुतलीस्थित आफ्नै घरमा उनले भूकम्पबाट पीडितहरूलाई रोजगार र सीपसमेत सिकाएकी छिन् । उनीहरूलाई प्रेरणा र हौसला दिन उनले खोलेको ‘वी नेपाल’ संस्थामा ज्वेलरीसम्बन्धी तालिम र रोजगारी दिइन्छ । भूकम्पमा अपांगता भएका व्यक्तिहरूको मनोबल उच्च पार्न र उनीहरूले पनि केही गर्न सक्छन् भन्ने देखाउन संस्था खोलेको उनको भनाइ छ । 

सबुले यो संस्था खोलेर काम गर्नुको खास कारण पनि छ । उनका श्रीमान् शरद पौडेलले ०७२ को भूकम्पमा खुट्टा गुमाउनुपर्‍यो । कलंकीस्थित साततले भवन ढल्दा उनी च्यापिएका थिए । ६ घन्टापछि उद्धार भए पनि उनको पाटन अस्पतालमा खुट्टा काटिएको थियो । श्रीमानकाे खुट्टाको उपचार ठीक भएपछि ०७३ जेठबाट उनले ‘वी नेपाल’ संस्था स्थापना गरेर भूकम्पबाट अपांगता हुन पुगेका व्यक्तिहरूको जीवनमा परिवर्तन ल्याउने प्रयत्न गरिरहेकी छिन् । सुरुवातमा चारजना अपांगता भएका व्यक्ति संस्थामा आएका थिए ।

बिस्तारै थपिँदै जाँदा २०–२२ जनासम्म पुगे । भूकम्पबाट अपांगता भएका व्यक्ति जोडिने क्रम अझै जारी छ । उनीहरूले यहाँ ज्वेलरीसम्बन्धी तालिम लिएका छन् । तालिम लिएपछि कतिपयले आफ्नै ज्वेलरी खोले, कतिपय यहीँ काम गर्न आउँछन् । कतिपय यहाँबाट सामान लगेर घरमै पोतेलगायत ज्वेलरी सामान तयार पारेर ल्याउँछन् । ‘मैले यति गर्दा मेरो पनि पीडा कम हुन्छ, किनभने मेरो श्रीमान्ले पनि भूकम्पमा खुट्टा गुमाउनुभएको छ,’ सबुले सुनाइन्, ‘उस्तैउस्तै पीडा मिल्ने भएकाले भूकम्पमा अपांगता हुन पुगेका व्यक्तिहरूलाई मैले जोड्न खोजेकी हुँ ।’ 

सुरुसुरुमा त पोते र ज्वेलरी बनाउन चाहिने सामान घरघरमै पुर्‍याउने र उनीहरूले बनाएको सामान सबुले लिएर आउने गर्थिन् । तर, अपांगता भएकाहरू ह्विलचेयर तथा कृत्रिम सामानहरूको प्रयोग गरेर पनि हिँडडुल गर्न सक्ने भएपछि उनीहरू बत्तीसपुतलीमै रहेको कार्यालयमै ज्वेलरीका सामग्री बनाउन आफैँ आउँछन् । कोही तालिम लिन आउँछन् । अहिले त्यहाँ सातजनाले काम गरिरहेका छन् । आफ्नो अनुकूल समयमा काम गर्न आउने–जाने गर्छन् । पछिल्लो समय भूकम्प मात्रै नभएर अन्य दुर्घटनाबाट पनि अपांगता भएकाहरूको जीवनयापनलाई मध्यनजर गर्दै उनीहरूलाई पनि रोजगारीमा जोड्नेबारे योजना बनाएको सबुले बताइन् । यहाँ काम गरेका आधारमा पैसा पाउँछन् । तालिममा बसेका वेला भत्ता पाउँछन् । कतिपयले ज्वेलरीसम्बन्धी तालिम सिकेर अन्य ठाउँमा गएर अरूलाई पनि तालिम दिएका छन् । 

सबुले सर्वप्रथम भूकम्पमा अपांगता भएका व्यक्तिहरू खोजिन् । उनको प्राथमिकतामा महिलाहरू थिए । कतिपय अपांगता भएका व्यक्ति श्रीमानकाे उपचारका लागि अस्पताल जाने क्रममा उनीसँग जोडिएका थिए । श्रीमानकाे जस्तै भूकम्पमा हातखुट्टा वा शरीरका कुनै अंग गुमाएका व्यक्तिका बारेमा सबुले सोचिन् । श्रीमान् शरदले पनि भूकम्पमा अपांगता भएका व्यक्तिका लागि रोजगार, प्रेरणा र सीपमूलक काम गर्नुपर्छ भनेर उनलाई सल्लाह दिए । सोहीअनुसार संस्था खोलेको उनको भनाइ छ ।

सबुकैै परामर्शले ललितपुर गोदावरीकी उमा सिलवालले सफलता हासिल गरेकी थिइन् । उनलाई इन्जिनियर बन्ने रहर थियो । तर, भूकम्पमा एउटा खुट्टा नै गुमाउनुपरेपछि जीवनदेखि नै निराश भइन् । सबुले उमालाई आफ्नो अफिसमै बोलाइन् । हौसला र प्रेरणा दिँदै उनलाई ज्वेलरी पसलमै रोजगारी दिइन् । दुईवटा विषयमा स्नातकोत्तर गरेकी उमा पछिल्लो समय अन्य अपांगता भएका व्यक्तिका लागि समेत उदाहरणीय पात्र थिइन् । तर, केही महिनाअघि उनको ललितपुरको हरिसिद्धिमा सवारी दुर्घटनामा परी ज्यान गयो । धादिङ कटुन्जे घर भई हाल काठमाडौं लोलाङहाइट बस्दै आएकी सुनिता तिरुवा । ०७२ को भूकम्प जाँदा आफ्नै घरले उनलाई पुर्‍यो । उपचारको क्रममा उनको एउटा खुट्टा काट्नुपर्‍यो । ‘वी नेपालले काम दिन थालेपछि परिवारको खर्च चलाउन केही सहज भएको छ ।’ 

भूकम्पमा अपांगता बनेकी प्रिया, जो एउटा खुट्टाको नृत्यले नचाउँछिन् दर्शक 

१२ वैशाख ०७२ को भूकम्प २१ वर्षीया प्रिया विश्वकर्माका लागि जीवनकै ठूलो घटना बन्यो । काभ्रेस्थलीस्थित घरको धारामा उनी आमासँगै कपडा धुँदै थिइन् । अनाचक भुइँचालो आयो । आमा भाग्न सफल भइन् ।

तर, प्रियालाई धारोनजिकै रहेको कच्ची घर लडेर च्याप्यो । उनको खुट्टा पुरियो । दुई घन्टापछि उनलाई उद्धार गरेर जनमैत्री अस्पतालमा लगियो । अस्पतालले तीन दिनपछि उनको खुट्टा काट्नुपर्ने भन्यो । हाल उनको घुँडाभन्दा मुनिको भाग छैन ।

तर, भूकम्पले दिएको चोट बिर्सिएर जीवनमा केही गर्नुपर्छ भनेर उनी अहिले स्नातक तह पढ्दै छिन् । शारीरिक हिसाबले केही कमजोर भए पनि आफूलाई त्यस्तो ठान्दिनन् । उनीसँग नृत्य गर्ने कला छ । सार्वजनिक तथा स्टेज कार्यक्रममा उनले एउटै खुट्टाले उभिएर नृत्य प्रस्तुत गर्छिन् ।

‘मेरो जीवनको त्यो ठूलो घटना हो, यसले गर्दा मैले कति अवसर गुमाएँ, तर पनि म आफूलाई केही गर्नुपर्छ भनेर अगाडि बढाइराखेकी छु,’ उनले सुनाइन्, ‘वी नेपालसँग जोडिएपछि मलाई हौसला र प्रेरणा मिलेको छ ।’ 

See More On

सुझावित समाचार