प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेश र विदेशी भन्नेबित्तिकै राम्रो र नेपाली नराम्रो भन्ने मानसिकता त्यागेर मात्र राष्ट्रिय अर्थतन्त्रको निर्माण र समृद्ध नेपाल सम्भव हुने बताएका छन्।
शनिबार बिहान गोकर्णमा बाह्रखरी मिडियाले आयोजना गरेको कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विदेशका अनुभव, शिक्षा र दृष्टान्तलाई बढी महत्व दिएर नेपाली विशेषता र मौलिकता नभुल्न सहभागीहरूलाई आग्रह गरे।
कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘हामीले विश्व पढ्नैपर्छ, विश्वका अनुभव र दृष्टान्तहरू पनि पढ्नुपर्छ। तर, त्यसभन्दा बढी नेपालको इतिहास पढ्नुपर्दछ। हाम्रो अर्थ राजनीतिक चरित्र, हाम्रो विशेषता र मौलिकता पढ्नुपर्छ। हामीकहाँ विदेशी भन्नेबित्तिकै राम्रो, नेपालीचाहिँ नराम्रो भन्ने मानसिकता पनि देखिन्छ। यसले राष्ट्रिय अर्थतन्त्र निर्माण, समृद्धि र स्वाधीनतालाई सहयोग गर्दैन। विश्वका मोडेल र अनुभवहरू पढ्दै गर्दा हामीले हाम्रो आफ्नोपन पढौँ र सोहीअनुरूप नीतिहरू तय गरौँ।’
उनले भने, ‘अर्थनीति र अर्थतन्त्रबारे विश्वमा आ–आफ्नै मोडेल छन्। नवउदारवाद र समाजवादी अर्थतन्त्रका आ–आफ्नै चरित्र र विशेषता छन्। तर, त्यसलाई हुबहु अवलम्बन गरेर हाम्रो अर्थनीति बनाउन सकिँदैन। हाम्रो अर्थ राजनीति, उत्पादन पद्धति अरूको भन्दा मौलिक छ। हामी कुन बाटो जाने, त्यो महत्वपूर्ण कुरा हो। यसमा धेरैजसो मान्छेहरू अल्मलिएको देख्छु। हाम्रो संविधानले निजी, साझेदारी र सहकारीको तीनखम्बे अर्थनीति अवलम्बन गरेको छ, यो विश्वका अरू मोडेलसँग हुबहु मिल्दैन।’
‘हाम्रो संविधान धेरै प्रगतिशील छ। यसले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माणको संकल्प गरेको छ,’ प्रधानमन्त्रीले भने, ‘संविधानमा एकतर्फ नवउदारवादका प्रगतिशील पक्षहरू समावेश गरिएको छ, अर्कोतर्फ समाजवादमा जाने संकल्प गरिएको छ। यसको अन्तर्य हामीले ठीक ढंगले बुझ्न सक्नुपर्छ। प्रतिस्पर्धा र समाजवाद सँगसँगै जाने प्रणाली हामीले अवलम्बन गरेका छौँ। हाम्रा बुद्धिजीवीहरूको पनि यतातिर बहस कम देख्छु। हामीले खास बहस गर्नुपर्ने र हाम्रो बाटो तय गर्नुपर्ने विषय यहीँनेर छ।’
संघीय लोकतान्त्रिक गणतन्त्रभित्र राष्ट्र निर्माण र समृद्धिको मार्गचित्र स्पष्टतापूर्वक राखिएको प्रधानमन्त्रीले बताए। ‘निजी क्षेत्रको सक्रियताबिना अर्थतन्त्रमा सुुधार ल्याउन सकिँदैन। त्यसका लागि हामीबीच बलियो सहकार्य जरुरी छ। राज्यले निजी क्षेत्रलाई निचोर्ने र निजी क्षेत्रले राज्यलाई छल्ने स्थिति बदलिनुपर्छ,’ प्रधानमन्त्रीले भने, ‘राज्यले निजी क्षेत्रलाई सम्मान गरेको छ भन्ने नभएसम्म लगानीकर्तामा उत्साह आउँदैन, लगानीको वातावरण पनि बन्दैन। निजी क्षेत्रले पनि इमानदार भएर कर नतिरेसम्म राज्य यस क्षेत्रप्रति सकारात्मक र उदार हुँदैन। हाम्रो कानुन, संरचना र कार्यशैलीबाट अत्तालिएर लगानीकर्ता बाहिरिएका छन्। उद्यमशील युवा पनि प्रक्रियागत झन्झटले उद्यम छोडेर विदेसिएका छन्। यो परिस्थिति हामीले बदल्नैपर्छ।’
उनले सरकार र निजी क्षेत्रबीच साझा धारणा बनाएर अगाडि बढ्न आवश्यक रहेको बताए। वर्तमान सरकार निजी क्षेत्रका समस्या सम्बोधन गरेर अगाडि बढ्न प्रयत्नशील रहेको उनको भनाइ थियो।
पछिल्लो समय अर्थतन्त्रमा सुधारका संकेतहरू देखिएका पनि ढुक्क भइहाल्ने परिस्थिति बनिसकेको र त्यसका निम्ति अझै मेहेनत आवश्यक रहेको उनले औँल्याए।
कार्यक्रममा आर्थिक क्षेत्रका प्रतिनिधि र विज्ञहरू अर्थतन्त्रमा सुधार ल्याउन सरकारले गरेको पहल सकारात्मक रहेकोमा जोड दिँदै सहकार्यका आधारमा अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्ने बताए।