मजदुरको मोल

बुधबार, ६ बैशाख, २०८०
डिजिटल संस्करण

एकजना ठूला ठेकेदारसित हजारौँ मजदुर काम गर्थे । एकपटक मजदुृरले आफ्ना विभिन्न माग राखेर हडताल सुरु गरेर काम रोके । हडताल महिनौँसम्म चलिरह्यो । हडतालको परिणामस्वरूप मजदुर भोकभोकै रहन थाले । त्यसैले, उनीहरू रोजीरोटीको व्यवस्थापनका लागि अन्य बस्तीतिर लागे । उनीहरू अर्को बस्तीतिर हिँडेपछि अन्य बस्तीका गरिब मजदुर त्यहाँ काम खोज्दै आइपुगे । 

ठेकेदार पनि हरेक दिन यस्तै मजदुरको खोजीमा रहन्थे, जसले उनको काम पूरा गर्न सघाऊन् । एक दिन उनी चौबाटोमा बसेर मजदुरको आवागमनमाथि ध्यान दिइरहेका थिए । एक मजदुर काँधमा कोदाली राखेर आइरहेका थिए । ठेकेदारले उनलाई बोलाएर सोधे– तिमी कामको खोजीमा छौ जस्तो छ, के तिमी मसित काम गर्छौ ? अनि काम गर्छौ भने ज्याला कति लिन्छौ ? मजदुरले भने– कामकै खोजीमा छु हजुर म पनि । म दिनको १२ आना ज्याला लिन्छु । ठेकेदारले उनलाई इँटाभट्टाका लागि माटो खन्ने काम दिए ।

केही समयपछि अर्को मजदुर आए । ठेकेदारले उनीसित पनि ज्याला सोधे । उनले आफूले तीन रुपैयाँ ज्याला लिने बताए । ठेकेदारले उनलाई कोइला खानीमा पठाइदिए । केही बेरपछि अर्का मजदुर आइपुगे । ठेकेदारले उनीसित पनि ज्याला सोधे । ती मजदुरले १० रुपैयाँभन्दा घटीमा काम गर्न नसक्ने बताए । ठेकेदारले उनलाई हिरा खानीमा काम गर्न पठाए । 

साँझमा तीनै मजदुर आआफ्नो ज्याला लिन ठेकेदारकहाँ पुगे । पहिलो मजदुरले सय टोकरी माटो खनेका थिए । दोस्रो मजदुरले १० मन कोइला निकालेका थिए भने तेस्रो मजदुरले एउटा हिरा निकालेका थिए । ठेकेदारले तीनै मजदुरलाई पालैपालो कबुलअनुसारको ज्याला हातमा राखिदिए । तेस्रो मजदुरको हातमा १० रुपैयाँ देखेपछि पहिलो मजदुर रिसाए । उनी रिसाएको देखेर ठेकेदारले भने– हेर भाइ, तिमीहरूको ज्याला मैले होइन, तिमीहरू आफैँले तय गरेका हौ । तिमीहरूले जेजति ज्याला माग्यौ, मैले कत्ति नघटाई दिएको छु । आखिर तिमीहरूमा जति इच्छाशक्ति थियो, तिमीहरूले काम पनि त्यति नै ग¥यौ र ज्याला पनि त्यसैअनुरूप पायौ । यसमा मलाई दोष दिनु बेकार हो । ठेकेदारको कुरा सुनेपछि पहिलो मजदुर चुप भए ।

सुझावित समाचार