नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पेस गर्ने तयारीमा रहेको बताएकी छिन्।
सोमबार राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष ०७५/७६, ०७६/७७ र ०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन, २०७९ माथिको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएकी हुन्।
सरकारले सो ऐनलाई अत्यन्तै प्राथमिकतामा राखेर अघि बढाएको र अहिले त्यो कानुन मन्त्रालयमा छलफलको अन्तिम चरणमा रहेको उनले जानकारी दिइन्। मन्त्री शर्माले कर्मचारीहरूको सरुवालाई व्यवस्थित बनाउने गरी सो ऐनमा आवश्यक व्यवस्था मिलाउन पनि सांसदहरूलाई आग्रह गरिन्।
कर्मचारी सरुवाको विषय व्यवस्थित नभएको स्वीकार गर्दै उनले अब बन्ने संघीय निजामती सेवा ऐनले त्यसलाई व्यवस्थित बनाउने विश्वास व्यक्त गरिन्। कर्मचारीको समय तोकेर सरुवाको मापदण्ड बनाउन सके छिटोछिटो सरुवा हुने समस्या समाधान हुने उनको तर्क छ।