प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट जाने भएका छन् । बिहान ९ बजे प्रचण्ड र देउवा बालकोट पुग्ने कार्यतालिका भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
विगत केही दिनदेखि संवैधानिक परिषद्सम्बन्धी विधेयक र सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भइरहेको छ।
यसबीचमा तीन दिनयता ओलीको स्वास्थ्यमा समस्या भएपछि छलफल अवरुद्ध हुन पुगेकाले प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेत ओलीनिवास बालकोट पुगी स्वास्थ्यलाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीका लागि छलफल गर्ने कार्यसूची रहेको सचिवालयको भनाइ छ ।