तीन वर्षभित्र लार्के–यांग्री खोलाबाट दैनिक ३४ करोड लिटर खानेपानी ल्याउने तयारी

एडिबीको २० अर्ब रुपैयाँ लागतको यो योजना सम्पन्न भएपछि उपत्यकामा खानेपानी फालाफाल हुने अनुमान

सोमबार, ४ बैशाख, २०८०
डिजिटल संस्करण
तीन वर्षभित्र लार्के–यांग्री खोलाबाट दैनिक ३४ करोड लिटर खानेपानी ल्याउने तयारी

फाइल तस्बिर

सरकारले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत नै रहने गरी दैनिक थप ३४ करोड लिटर पानी ल्याउने योजना अघि बढाएको छ । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा अबको तीन वर्षभित्र मेलम्चीनजिकै रहेका दुईवटा खोला (लार्के–यांग्री)बाट थप ३४ करोड लिटर पानी उपत्यकामा ल्याउन लागिएको हो । यो योजना सम्पन्न भएपछि उपत्यकामा खानेपानी फालाफाल हुने सरकारको दाबी छ । 

लार्के–यांग्री खोला मेलम्चीको बाँधदेखि करिब ११ किलोमिटर टाढा छ । लार्के–यांग्रीसम्मको ११ किमि टनेल, दुईवटा इन्टेक र दुईवटा बाँध निर्माणका लागि २० अर्ब रुपैयाँ लागत अनुमान सरकारले गरेको छ । उक्त योजना अघि बढाउन सरकारले मेलम्ची खानेपानी विकास समितिसमेत पुनर्गठन गरेको छ ।

गत वर्षको बजेट भाषणका क्रममा खारेज भएको समिति पुनर्गठन गरेर योजना अघि बढाउन लागिएको मेलम्ची खानेपानी आयोजनाका प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार यो संस्थाले यसअघि मेलम्चीको पानी सुन्दरीजलसम्म ल्याएको थियो । यसका साथै आयोजनाका क्षति भएका संरचना पुनर्निर्माण, बाहै्र महिना पानी ल्याउन सक्ने गरी थप संरचना निर्माण, लार्के–यांग्री खोलातर्फ टनेल निर्माण र सुन्दरीजलमा पानी ट्रिटमेन्ट प्लान्ट बनाउनेलगायत काम गर्न आवश्यक ठान्दै सरकारले समिति फेरि ब्युँताएको हो ।

  लार्के–यांग्री मिसिएपछि उपत्यकामा खानेपानी फालाफाल 
खानेपानी मन्त्रालयका अनुसार हाल उपत्यकामा दैनिक ४३ हजार लिटर खानेपानी माग छ । यसमध्ये मेलम्ची र अन्य स्रोतबाट समेत गरी दैनिक २९ करोड लिटर आपूर्ति भइरहेको छ । दैनिक १४ करोड लिटर पानी अपुग छ । लार्के–यांग्री खानेपानी आयोजना सम्पन्न भएपछि उपत्यकामा खानेपानीको समस्या टर्नेछ । 

 मेलम्ची खानेपानी विकास समितिका प्रोजेक्ट म्यानेजर कमलराज श्रेष्ठ भन्छन् ‘मेलम्चीबाट उपत्यकामा हाल दैनिक १७ करोड लिटर पानी आइरहेको छ । अब ३४ करोड लिटर थप गर्दै छौँ । लार्के र यांग्रीको पानी थपिएपछि उपत्यकामा पानी फालाफाल हुन्छ । यसका लागि मेलम्चीदेखि ११ किमि टनेल निर्माण गर्नुपर्ने हुन्छ । जसमा लार्केदेखि यांग्री खोलासम्म दुई किमि र यांग्रीदेखि मेलम्चीसम्म नौ किमि टनेल निर्माण गर्नुपर्छ ।’

समितिका प्रोजेक्ट म्यानेजर कमलराज श्रेष्ठले अघि बढाउन लागिएको आयोजना महत्वपूर्ण रहेको बताए । ‘मेलम्चीबाट उपत्यकामा अहिले दैनिक १७ करोड लिटर पानी आइरहेको छ, अब ३४ करोड लिटर थप गर्दै छौँ,’ उनले भने, ‘यो थपिएपछि उपत्यकामा पानी फालाफाल हुन्छ ।’ उनका अनुसार दोस्रो आयोजनाअन्तर्गत ११ किमि टनेल निर्माण गर्नुपर्ने हुन्छ । जसमा लार्केदेखि यांग्री खोलासम्म दुई किमि र यांग्रीदेखि मेलम्चीसम्म नौ किमि टनेल निर्माण गर्नुपर्छ । टनेल निर्माण गर्न करिब तीन वर्ष समय लाग्नेछ भने २० अर्ब रुपैयाँ लागत खर्च हुने अनुमान गरिएको छ । 

समिति पुनर्गठन गरेसँगै आयोजनाको काम पनि अघि बढेको छ । एडिबीको बजेटअन्तर्गत काम हुने भएकाले एडिबीले इन्टरनेसनल कन्सल्टेन्ट हायर गर्ने समितिका प्रोजेक्ट डाइरेक्टर श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस्तो आयोजनामा नेपालभित्रकै कन्सल्टेन्टले काम गर्न सक्दैनन् । गरिहाले पनि पछि समस्या देखिने भएकाले एडिबीले इन्टरनेसनल कन्सल्टेन्ट नै हायर गर्ने तयारी गरेको छ । 

 पुरानै टनेलबाट पानी सप्लाई हुने
उपत्यकामा अहिले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आइरहेको छ । मेलम्चीदेखि सुन्दरीजलसम्म करिब २६ किमि टनेलको चौडाइ चार मिटर र उचाइ तीन मिटर छ । लार्के–यांग्रीतर्फको टनेल निर्माणपछि पनि यही टनेलमा मिसाइनेछ । 

 टनेलमा गाडी पनि गुडाउन मिल्ने 
लार्के–यांग्री–मेलम्चीतर्फ निर्माण गरिने ११ किमि टनेलको मोटाइ मेलम्ची–काठमाडौंको भन्दा फरक हुने समितिले जनाएको छ । यो टनेलमा पानी सँगसँगै गाडी गुडाउने मिल्ने गरी निर्माण गरिने जनाइएको छ । लार्के–यांग्री मिसिएपछि सुन्दरीजलमा दैनिक ५१ करोड लिटर पानी आउनेछ । यो पानी सप्लाई र स्टोर गर्न साढे सात करोड लिटरका १० वटा ट्यांकी यसअघि नै निर्माण भइसकेका छन् । यस्तै, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका पुराना संरचनासमेत छन् । यी संरचना दशकौँसम्म काम लाग्ने समितिका प्रोजेक्ट डाइरेक्टर श्रेष्ठको भनाइ छ । 

उपत्यकाआसपासबाटै दैनिक १२ करोड लिटर पानी उपलब्ध
घना बस्ती भएको काठामाडौं उपत्यकाआसपासका मूल, मुहान र खोलाहरू अझै जीवितै छन् । ती खोला र मुहानबाट दैनिक १२ करोड लिटर खानेपानी उपत्यकामा सप्लाई हुन्छ । काठमाडौं खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार ललितपुरको भैँसेपाटी, गोदावरी, काठमाडौंको शिवपुरी, गोकर्ण, भक्तपुरको चाँगुनाराण, नगरकोटलगायत क्षेत्रका मूल मुहानबाट दैनिक १२ करोड लिटर पानी आउँछ । यसबाहेक उपत्यकाभित्र रहेका परम्परागत खानेपानीको स्रोत ढुंगेधाराले पनि उपत्यकामा खानेपानीमा केही सहजता थपेको छ । 

सुझावित समाचार