रेफ्रीकै कारण नतिजा तल–माथि भएको भन्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगका अधिकांश क्लबले असन्तुष्टि जनाउँदै आएका छन्
सहिद स्मारक ‘ए’ डिभिजन लिग ०७९–८० मा रेफ्रीको निर्णयमाथि प्रश्न उठ्न थालेको छ । बारम्बार रेफ्रीको गलत निर्णयले क्लब डुब्ने स्थिति आएको अधिकांश क्लबले आरोप लगाएका छन् । शनिबार जारी लिगको ५८औँ खेलमा मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीले प्रतिस्पर्धा गरेका थिए । दशरथ रंगशालामा साबिक दुईपटकको च्याम्पियन मच्छिन्द्र एनआरटीसँग १–१ को बराबरीमा रोकियो । खेलपछि भएको पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षकले रेफ्रीमाथि असन्तुष्टि जनाए । ‘रेफ्री सधैँ निष्पक्ष हुनुपर्छ । तर, आज त्यस्तो देखिएन,’ साबिक दुईपटकको च्याम्पियन मच्छिन्द्रका प्रशिक्षक किशोरकुमार केसीले दुखेसो पोखे ।
उनले घटनाको विषयमा टोली व्यवस्थापकले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अपिल गर्ने बताए । केसी मच्छिन्द्रको प्रशिक्षण सम्हाल्न आएयता पहिलो बराबरी नतिजा निकालेको हो । अघिल्ला दुई खेलमा मच्छिन्द्रले खुमलटारलाई ७–३ र संकटालाई २–० ले पराजित गरेको थियो । केसीले सुन्दर फुटबल खेल्न आएको, तर सफल नभएको प्रतिक्रिया दिँदै एनआरटीले राम्रो प्रदर्शन गरेको भन्दै तारिफ गरे ।
आफिजलाई रातो कार्ड
दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्समा भइरहेको लिगमा सात रेफ्री र १७ असिस्टेन्ट रेफ्री छन् । जसमा चार फिफा रेफ्री र ६ असिस्टेन्ट रेफ्रीले निर्णायक भूमिका पाएका छन् । मच्छिन्द्र र एनआरटीबीचको खेल रेफ्री श्याम दनुवारले खेलाएका थिए । असिस्टेन्ट रेफ्रीमा सहदेव श्रेष्ठ र मधुकर आचार्य तथा फोर्थ रेफ्रीमा ज्ञानबहादुर मोक्तान थिए । रेफ्री एसेसर श्रीराम रञ्जितकार हुन् । खेलको ८७औँ मिनेटमा पेनाल्टी नपाएपछि एनआरटीका अफिसियलले फोर्थ रेफ्रीलाई अपिल गरेका थिए । मच्छिन्द्रका विदेशी रक्षक आमोलाजा नुरैन करिमले पेनाल्टी बक्समा हातले बल रोकेका थिए । एनआरटीका पदाधिकारी र खेलाडीले पेनाल्टीको अपिल गरे पनि रेफ्री दनुवारले कुनै प्रतिक्रिया जनाएनन् ।

खेलपछि मच्छिन्द्रको पूरा टोली नै रेफ्रीमाथि जाइलागेको थियो । विवादमा उत्रिएपछि रेफ्री दनुवारले मच्छिन्द्रका विदेशी स्ट्राइकर आफिज ओलावाले ओलादिपोलाई दोहोरो पहेँलो कार्ड देखाए । यसपछि मच्छिन्द्रका खेलाडी र अफिसियल रेफ्रीसँग वादविवादमा उत्रिए । रातो कार्डपछि आफिजले दशौँ चरणमा विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफसँगको खेल गुमाउनेछन् । जारी लिगमा ६ खेल खेलेका आफिजले एक ह्याट्रिकसहित आठ गोल गरिसकेका छन् ।
जावलाखेल शीर्ष स्थानमा
कीर्तिमानी आठौँपटकको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै जावलाखेल युथ क्लब तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । च्यासल मैदानमा जावलाखेलले मनाङलाई ३–० ले हरायो । जितसँगै जावलाखेलले नौ खेलमा पाँच जित, दुई बराबरी र दुई हारको नतिजासहित १७ अंक जोडेको छ । चार जित, तीन बराबरी र दुई हारको नतिजासहित १५ अंक जोडेर मनाङ तेस्रो स्थानमा झर्यो । जावलाखेललाई जित दिलाउन विदेशी खेलाडी एनकोटो मासोआबीले दुई तथा फोडे फोफानाले एक गोल गरेका थिए । खेलको चोथो मिनेटमा आसोआबीले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए । बाँकी समयमा गोल फर्काउन प्रयास गरेको मनाङले ६ मिनेटको इन्जुरी समयमा थप दुई गोल बेहोर्यो । इन्जुरी समयको दोस्रो मिनेटमा समिराज थोकरको पासमा फोफानाले हेड गोल गरे । इन्जुरी समयकै छैटौँ मिनेटमा फोफानाले मिलाएको बललाई मासोआबीले गोलमा परिणत गरेका थिए । जारी लिगमा उनको यो छैटौैँ गोल हो ।
खुमलटारले आर्मीलाई हरायो
खुमलटार युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–२ अन्तरले पराजित गरेको छ । दशरथ रंगशालामा खुमलटारलाई जित दिलाउन विदेशी खेलाडी मेसौके ओलुमोउले दुई गोल गरे । कप्तान रेजिन सुब्बाले एक गोल थपेका थिए । आर्मीका लागि नवयुग श्रेष्ठ र सुशान्त चौधरीले समान एक गोल फर्काए । तेस्रो जितपछि खुमलटारले ९ खेलबाट १० अंक जोडेको छ । यता, तेस्रो हार बेहोरेको आर्मीको १२ अंक छ ।
खेलको सातौँ मिनेटमा मेसौकेले खुमलटारलाई अग्रता दिलाए । १८औँ मिनेटमा नवयुगले पेनाल्टीमार्फत बराबरी गोल गरे । २७औँ मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दा खुमलटारले पहिलो हाफमा २–१ को अग्रता बनायो । ५२औँ मिनेटमा रेजिनले तेस्रो गोल गरे । सुशान्तले अन्तिम मिनेटमा एक गोल गरे पनि आर्मीको हार टार्न सकेनन् ।
रेफ्रीकै कारण क्लब डुब्न सक्छ : शाक्य
खेलपछि एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले नेपाली फुटबल विकासमा रेफ्रीको पनि हात रहने र उनीहरूले निष्पक्ष भूमिका खेल्नुपर्ने बताए । ‘फुटबलमा रेफ्रीको निर्णय नै अन्तिम हुन्छ । तर, उनीहरूले आफूलाई सुधार गर्नुपर्छ । बारम्बार रेफ्रीको गल्तीका कारण क्लब डुब्ने स्थिति सिर्जना हुन्छ,’ रेफ्रीको विषयमा खासै प्रतिक्रिया नजनाउने शाक्यले शनिबार दुखेसो पोखे । ‘म खासै रेफ्रीको विषयमा त्यति बोल्दिनँ । तर, आज बोल्नैपर्ने भयो । स–साना गल्तीमा पनि खेल रोकिरहेका छन्,’ उनले निराशा जनाए । ‘हामी रेलिगेसन क्षेत्रमा रहेको टोलीलाई सानातिना गल्तीले पनि धेरै समस्या हुन्छ । संकटाविरुद्ध पनि यस्तै निर्णय भएको थियो, जसका कारण हामी संकटाविरुद्ध हार्न पुग्यौँ,’ शाक्यले भने । लिगको ५३औँ खेलमा एनआरटी संकटासँग २–१ ले पराजित भएको थियो । लिगमा रेफ्रीमाथि दुई क्लब मात्रै हैन, अन्य क्लबले पनि दुखेसो पोखेका छन् । पहिलोपटक ए डिभिजन लिग खेल्दै गरेको चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी क्लब, फ्रेन्ड्स क्लबले यसअघि प्रश्न तेस्र्याउँदै आएका छन् ।