सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका– ३ स्थित पतारीपोखरीमा शनिबार दर्जनौँ व्यक्तिले डुबुल्की मारे। हरेक वर्षझैँ २ वैशाखमा निःसन्तान दम्पती र तिनका आफन्तले सन्तान प्राप्तिको भाकल गर्दै पतारीपोखरीमा डुबुल्की मारेका हुन्।
पूर्व–पश्चिम लोकमार्गको धनगढी बजारबाट करिब १० किलोमिटर दक्षिणमा पर्ने पतारीपोखरीमा सन्तान प्राप्तिको भाकलसहित आउने करिब तीन सय निःसन्तान दम्पतीको शनिबार बिहानैदेखि भिड लागेको स्थानीय शंकर बिसीले बताए। योपटक पनि मेलामा भारतको उत्तरी बिहारको पटना, मधुवनी, दरभंगा, जयनगरसहित नेपालका तराई र तराईले छोएका विभिन्न जिल्लाहरूबाट निःसन्तान दम्पती सन्तान प्राप्तिको भाकलसहित १८ घण्टासम्म व्रत बसेर पोखरीमा डुबुल्की मार्न आएका उनले बताए।
१८ घण्टा ब्रतपछि डुबुल्की
करिब १० बिघा क्षेत्रफलमा फैलिएको पोखरीको दक्षिणी किनारमा रहेको मन्दिर (गहवर)को पूर्वी ढोकामा १ वैशाखको साँझदेखि निरन्तर १८ घण्टासम्म व्रत बसेर भोलिपल्ट मध्याह्न गहवरभित्र रहने विशेष पूजा (कोकिया गुहाइर)बाट अक्षता लिई गहवरको उत्तरी गेटबाट सीधै पोखरीमा हाम फालेर हेलिँदै पोखरी पार गर्नुपर्ने मान्यता रहेको छ।
गहवरका पुजारी ७७ वर्षीय माधव सिंहका अनुसार पोखरीमा हेलिएलगत्तै पहिलो डुबुल्कीमा पानीभित्र कुनै पनि जीव भेटिए ती महिलाको सन्तान हुने मान्यता रहेको छ। डुबुल्की मार्दा पानीमा भेटिएको जीव मुठ्ठीमै राखेर कोहीसँग नबोली पोखरीबाट निस्किएलगत्तै गाउँको सीमा पार गरेपछि महिलालाई पछ्याउँदै जाने आफन्तले कपडा फेरिदिने गर्दछन्। कपडा फेरेर आफ्नो घर पुगेपछि मुठीमा ल्याएको जीवको बुटी बनाएर व्रत बसेका महिलाले पाखुरा या घाँटीको मालामा राख्दा सन्तान प्राप्त हुने जनविश्वास रहेको छ।
वर्षको एकपटक पतारीपोखरीमा सन्तान माग्ने र सन्तान पाइसकेका दम्पतीहरूको विशेष भिड रहने लक्ष्मीपुर पतारीगाउँपालिकाका अध्यक्ष चतुरान्द ठाकुरले बताए। लक्ष्मीपुरपतारी– ३ का वडाध्यक्ष दिलीपकुमार सफीका अनुसार मनोकांक्षा पूरा भएका दम्पतीहरू बोका, परेवा, लड्डु, पान सुपारी लिएर पोखरीमा पूजाका लागि पुग्ने गर्दछन्।
लोकनायक सलहेसकै समयमा राजा हरिसिंह देव बस्दै आएको पतारीपोखरी क्षेत्र वि.सं. १३२५ तिरदेखि अस्तित्वमा रहेको मानिएको पुजारी माधव सिंहले उल्लेख गरे ।