मकवानपुरको थाहामा आगलागीबाट दुईवटा घर जलेर नष्ट

बिहिबार, ३० चैत, २०७९
डिजिटल संस्करण

मकवानपुरको थाहा नगरपालिकामा गएराति आगलागी हुँदा दुईवटा घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार गएराति साढे १ बजेतिर आगलागी हुँदा थाहा नगरपालिका– ६ चल्तीस्थित थाक्लेका कृष्णबहादुर खत्री र राजकुमार खत्रीको घर पूर्ण रूपमा जलेर नष्ट भएका हुन् ।

आगलागीबाट घर र घरभित्र रहेका सम्पूर्ण सामग्री जलेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार कृष्णको घरमा रहेको नगद चार लाख र राजकुमारको घरमा रहेको नगद एक लाख ५० हजारसहित कुल ३५ लाख पचास हजार रुपैयाँबराबरको धनमाल नष्ट भएको छ ।

आगलागीबाट कुनै मानवीय र चौपायाको क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । कृष्णबहादुर खत्रीको पुरानो डिजाइनको ढुंगामाटोले बनेको दुईतले कच्ची घरमा बिजुलीको तार सर्ट भई आगलागी सुरु भएको प्रहरी प्रवक्ता कार्कीले बताए।

उक्त आगो बढ्न गई सँगै जोडिएर बनाइएको खत्रीका आफ्नै भाइ राजकुमार खत्रीको घरमा पनि आगलागी भएको थियो । इलाका प्रहरी कार्यालय पालुङका प्रहरी नायव निरीक्षक उमेशप्रसाद कोइरीको कमान्डमा खटिएको प्रहरी, स्थानीय र दमकलको सहयोगमा राति साढे २ बजेतिर आगो निभाउन सकिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

See More On

सुझावित समाचार