हाम्रा विश्वविद्यालयहरूमा विद्यार्थी संख्या किन घट्दै गइरहेको होला ?
विश्वविद्यालय प्रवेश गर्न योग्यमध्ये झन्डै एक लाखजति विद्यार्थी प्रतिवर्ष अध्ययन तथा अन्य कारणले बाहिरिएपछि यहाँका विश्वविद्यालयमा विद्यार्थी संख्या घट्नु स्वाभाविकै हो । निजी क्याम्पसहरू पनि बढ्दै गएका छन् । त्यतातिर पनि विद्यार्थीको आकर्षण बढिरहेको छ ।
अर्कातिर हाम्रा विश्वविद्यालयबाट समयमै परीक्षा लिने र नतिजा प्रकाशित गर्ने कार्यमा ढिलाइ भइरहेको देखिन्छ । विद्यार्थी घटेपछि त उत्तरपुस्तिका पनि कम हुँदा नतिजा पनि छिटो आउनुपर्ने हो । तर, यहाँ वर्ष नै ‘लस’ हुने अवस्था छ । यसले गर्दा पनि हाम्रा विश्वविद्यालयहरूप्रति विद्यार्थीको आकर्षण घट्दै गएको हुन सक्छ ।
हाम्रा विश्वविद्यालयहरू किन यति धेरै अस्तव्यस्त देखाएका होलान् ?
विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप बढिरहेका गुनासा सुनिन्छन् । शिक्षक छनोटदेखि हरेक गतिविधिमा राजनीतिको छाया देखिन्छ । यसका कारण विश्वविद्यालयको नेतृत्वले ढुक्क भई काम गर्न सक्ने अवस्था हुँदैन । आन्तरिक रूपमा शिक्षक, विद्यार्थी, कर्मचारी सबैको राजनीतिले पनि विश्वविद्यालयहरूलाई अस्तव्यस्त बन्न सघाएका हुन् कि ?
विश्वविद्यालयहरूलाई सुधार्ने उपाय के हुन सक्छन् ?
सबैभन्दा पहिले नेतृत्वले विश्वविद्यालयको प्राज्ञिक गतिविधिलाई स्वच्छ र पारदर्शी बनाउन भूमिका खेल्नुपर्छ । विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधारमा नेपाल सरकार, विश्वविद्यालयका पदाधिकारी, त्यहाँ कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थी स्वयं विशेष रूपमा सचेत हुनुपर्छ । शैक्षिक क्यालेन्डरलाई कडाइसाथ लागु गर्नुपर्छ ।