उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्न निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह

मंगलबार, २८ चैत, २०७९
डिजिटल संस्करण

अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी भएको बताएका छन्। 

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रले व्यापारमा मात्रै नभई उद्योग व्यवसायमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताएका हु्न्। 

उनले मुलुकका हरेक संयन्त्रमा समस्या रहेको भन्दै सबैले सुधार गर्न आवश्यक रहेको बताए। सरकारको पनि प्रभावकारिता र पारदर्शिता बढाउन आवश्यक रहेको बताउँदै अर्थमन्त्री महतले निजी क्षेत्रले उत्पादनमूलक उद्योग–व्यवसायमा लगानी केन्द्रित गरे सरकारले लगानीको वातावरण सहज बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायको व्यवस्था गर्ने बताए। 

अर्थमन्त्री डा. महतले अन्तर्राष्ट्रियस्तरमा भइरहेका युद्धहरूको प्रभाव नपरे नेपालको आर्थिक वृद्धि चार प्रतिशतभन्दा माथि हुने बताए। अन्तर्राष्ट्रिय परिस्थिति राम्रो र युद्धको अन्त्य हुन सके नेपालको आर्थिक विकास, रूपान्तरण, पुँजी विकास र उद्योग–व्यवसायमा लगानीका समस्या समाधान गरी अर्थतन्त्रमा सकारात्मक सुधार हुने विश्वास व्यक्त गरे। 

तत्कालका लागि सरकारको सम्पूर्ण ध्यान पुँजीगत खर्च गर्ने क्षमता प्रभावकारी बनाउने र साधारण खर्चलाई कम गर्नेमा रहेको उनले बताए। सरकारले सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा गर्ने साधारण खर्च कम गर्न नसक्ने बताए। उनले सरकारले पुँजीगत खर्चमा वृद्धि गरी बजारमा तरलताको सहजता बनाई आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए। 

सुझावित समाचार