संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । दुवै सदनको बैठक आज दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आ.व. ०७८/७९ पेस गर्ने, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
त्यस्तै, राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, ०७८/७९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ३२औँ वार्षिक प्रतिवेदन, ०७८/७९ पेस गर्नेछन् । त्यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा रावल (पार्वती)ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष ०७५/७६, ०७६/७७ र ०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
प्रधानमन्त्री प्रचण्डले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन), विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।