उपाधिका लागि स्टार र कर्णाली भिड्ने

सोमबार, २७ चैत, २०७९
डिजिटल संस्करण

स्टार क्रिकेट एकेडेमी र कर्णाली क्रिकेट एकेडेमी पोखरामा नेपाल कप यू–१९ क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा कर्णालीले आइतबार भएको क्वालिफायर चरणमा पोखरा क्रिकेट एकेडेमीलाई हराउँदै फाइनल स्थान पक्का गरेको हो । यसअघि पहिलो क्वालिफायरमा कर्णाली स्टारसँग स्तब्ध भएको थियो । पहिलो ब्याटिङ गरेको पोखराले २० ओभरमा सात विकेट गुमाउँदै ८९ रन जोडेको थियो ।

प्रत्युत्तरमा कर्णालीले १८.२ ओभरमा पाँच विकेटको क्षतिमा ९३ रन जोड्दै स्टारसँगको फाइनल भेट पक्का गर्यो । पोखराका लागि साहिल कुँवरले २५ बलमा समान दुई चौका र छक्का प्रहार गर्दैै २८ रन बनाए । विज्ञान पाण्डेले ४९ बलमा एक चौकाको सहयोगमा २१ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । कर्णालीका लागि मनीष थापाले २५ बलमा एक चौका र दुई छक्कासहित २२ रन बटुले । 

खेलका म्यान आफ दी म्याचसमेत रहेका आदित्यविक्रम शाहले नटआउट २० रन जोडे । विक्रम भण्डारीले १० रन जोड्दा टोलीका अन्य खेलाडी दोहोरो रन जोड्न असफल रहे । कर्णालीका आदित्यविक्रम शाह र भरत क्षेत्रीले समान दुई विकेट हात पारे । पोखराका नितेश गिरीले दुई विकेट लिए । ६ टोलीको सहभागिता रहेको प्रतियोगिताका विजेताले ५० हजार र दोस्रोले २५ हजार रुपैयाँ पाउनेछन् । 

सुझावित समाचार