मन्त्री श्रेष्ठको संसद् सचिवालयमा त्रुटिपूर्ण विवरण

सोमबार, २७ चैत, २०७९
डिजिटल संस्करण

संसद् सचिवालयको रेकर्डमा उपत्यकामा घर भएका र मासिक मर्मत सम्भार सुविधा बुझ्ने सांसदहरूको सूचीमा माओवादीका नारायणकाजी श्रेष्ठको नाम पनि छ । तर, उनको उपत्यकामा घर छैन्, संसद सचिवालयका कर्मचारीको असावधानीले उनको नाम ‘घर भएको’ सूचीमा ‘इन्ट्री’ भएको छ । 

सांसद निर्वाचित भएपछि श्रेष्ठले आफ्नो घर नभएको भनेरै सांसद सुविधा व्यवस्थापन शाखामा विवरण टिपाएका थिए । तर, ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनपछि लेखाले विवरण अद्यावधिक गर्दा सांसद श्रेष्ठको ‘घर रहेको’ भनेर ‘इन्ट्री’ गर्यो । त्यही सूचना सचिवालयले नयाँ पत्रिकालाई उपलब्ध गराएको थियो । 

लेखा शाखाबाट भएको तथ्यगत त्रुटिमा संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले कार्यसम्पादनका क्रममा कर्मचारीबाट कमजोरी भएको र यसलाई सच्याइने बताए । ‘पहिलाको विवरण ठीकै थियो । नयाँ सिस्टम आएपछि इन्ट्री गर्दा प्राविधिक त्रुटिले फरक पर्न गएछ । भएका कमी–कमजोरीलाई सचिवालयले सच्याउँछ,’ उनले भने ।

तथ्यगत त्रुटि भएपछि प्रवक्ता गिरीले लेखा शाखाका अधिकारीलाई बोलाएर सच्याउन निर्देशनसमेत दिएका छन् ।गृहमन्त्रीको सचिवालयले पनि श्रेष्ठको काठमाडौंमा आफ्नो घर नभएको, यसअघि घर भाडामा लिएर बसिरहेको र अहिले मन्त्री भएपछि सरकारी आवासमा बसिरहेको जनाएको छ । 

मर्मत सुविधा निर्वाचन क्षेत्रमा खर्च गर्छन् सांसद बजगाईं
काठमाडौंमा घर भएका गोरखा १ बाट निर्वाचित कांग्रेस सांसद राजेन्द्र बजगाईंले मर्मतसम्भारबापत प्रत्येक महिना पाउने नौ हजार रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रको काममा खर्च गर्दै आएका छन् । घर मर्मतसम्भारबापत प्रत्येक महिना नौ हजार बुझिरहेको समाचार प्रकाशित भएपछि सांसद बजागाईंले आफूले आममतदाताको सेवामा खर्च गरिरहेको दाबी गरेका छन् ।

‘मैले आफ्नो पारिश्रमिक तथा मासिक घर मर्मतबापत पाउँदै आएको सुविधा विपत्मा परेका आफ्नो क्षेत्रभित्रका आममतदाताको सेवामा खर्च गर्दै आएको छु,’ उनले भने । बजगाईंको सचिवालयले आइतबार विज्ञप्ति जारी गरेर संसद् सचिवालयबाट उपलब्ध गराउँदै सम्पूर्ण पारिश्रमिक, भत्ता तथा आवास सुविधाअन्तर्गतको रकम क्षेत्र नम्बर १ गोरखाका विपत्मा परेका नागरिकको उद्धारका लागि खर्च गर्ने घोषणा गरेको जानकारी गराएको छ ।

सुझावित समाचार