पोखरामा ११औँ आलु महोत्सव : आलुकै २० भन्दा बढी परिकार

आइतबार, २६ चैत, २०७९
डिजिटल संस्करण

‘सुन्दर ठाउँ हेम्जा जाऔँ, आलुका स्वादिष्ट परिकार खाऔँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ पोखरा महानगरपालिका– २५ हेम्जामा आइतबारदेखि ११औँ संरकरणको राष्ट्रिय हेम्जा आलु महोत्सव ०७९ सुरु भएको छ ।

विष्णु पादुका क्लब हेम्जाको आयोजनामा ३ वैशाखसम्म चल्ने महोत्सवको उद्घाटन गण्डकी प्रदेशका कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले गरेका थिए । ०६६ सालदेखि हुँदै आएको महोत्सव कोरोनाका कारण विगत तीन वर्ष रोकिएकोमा यस वर्षदेखि पुनः निरन्तरता पाएको हो । 

महोत्सव सुरु हुनुपूर्व हेम्जाको मिलनचोकबाट झाँकीसहितको शोभायात्रा निकालिएको थियो । शोभायात्रामा सहभागीहरूले आलुसँगै विभिन्न तरकारीहरूबाट बनाइएका मालासँगै तरकारीबाट तयार गरिएका विभिन्न आकृतिसहित र अन्य झाँकी, कृषि सामग्रीहरू पहिरिएर महोत्सवस्थलसम्म पुगेका थिए ।

हेम्जामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीका बृहत् प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेम्जालाई व्यावसायिक कृषि पर्यटनको रूपमा देश विदेशमा चिनाउने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विभिन्न समूहमा व्यावसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने र क्लब भवन निर्माणका साथै तरकारी संकलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने उद्देश्य महोत्सवको रहेको आयोजक क्लबका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए । 

सामुन्द्रिक सतहदेखि १०८८ मिटरको उचाइमा रहेको हेम्जाको कुल क्षेत्रफल १२ हजार पाँचसय हेक्टर रहेकोमा ५५० हेक्टरमा आलु खेती हुँदै आएको छ । एक हजार २२ घरपरिवार कृषिमा आधारित छन् भने ५४० कृषकले व्यावसायिक आलु खेती गर्दै आएका छन् ।

आलुका २० बढी परिकार
महोत्सवमा आलुबाट बनेका २० बढी परिकारहरूसँगै तिनीहरूको स्वादसमेत चाख्न पाइनेछ । महोत्सवमा आलुबाट बनेका कबाब, रोस्ट, स्टार्ट पोटाटो, साँधेको आलु, आलुको पकौडा, सेकेको आलु, आलुको बर्गर, अचार, आलुको ढिँडो, दाललगायत अन्य परिकार साथै सेलरोटी, खिर प्रदर्शनी एवं बिक्रीका लागि राखिएको छ । 

४० हजार किलो आलुको पहाड

महोत्सव आलुको पहाडसमेत राखिएको छ । महोत्सवस्थलमा रहेको पहाडमा करिब ४० हजार किलो आलु राखिएको छ । महोत्सव स्थलबाट ३५ रुपैयाँ प्रतिकिलोको दरले आलु बिक्रीसमेत गरिएको छ । 

महोत्सवमा विभिन्न स्थानबाट आलु खरिदका लागि मानिसहरू जाने गर्दछन् । महोत्सवमा आलु तथा ताजा तरकारीहरूको बृहत् प्रदर्शन, माटो, बोटविरुवा, परीक्षण तथा रोग निदान, कृषक र कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शन, विविध सांस्कृतिक कार्यक्रम, विभिन्न कृषि उपज बिउविजन तथा अन्य कृषियन्त्रको प्रदर्शनीसँगै कृषक सम्मान तथा पुरस्कारलगायतका कार्यक्रमहरू हुने आयोजक क्लबका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

सुझावित समाचार