५० शय्याको गुल्मी अस्पताल स्वच्छन्द–बानियाँ जेभीले २५ करोड ४१ लाख १४ हजार नौ सय ६४ रुपैयाँको लागतमा निर्माण गरिरहेको छ । पूर्वाधारको हिसाबले साढे पाँच तलासहितको आधुनिक भवन बन्नेछ । तर, दरबन्दीअनुसारका जनशक्ति ३० प्रतिशत छैनन् । १० विशेषज्ञको दरबन्दी भए पनि एकजना मात्र छन् । जनशक्ति नभएकै कारण डेढ करोडको आइसियू अलपत्र परेको छ ।
आधा घन्टाको फरकमा सरकारपिच्छे औचित्यहीन १५ शय्याका अस्पताल निर्माण गरेर अर्बौँ रुपैयाँ खर्च भएका छन् । पालिका र स्थानीय स्वास्थ्यचौकी करार जनशक्तिका भरमा चलेका वेला १५ शय्याको अस्पतालमा २९ जनाको दरबन्दीसहित करोडौँमा निर्माण भएकाले आलिसान अस्पताल अन्तिममा भूतबंगलामा परिणत हुँदै छन् ।
गुल्मी अस्पतालबाट ३० मिनेटको दूरीमा गुल्मी दरबारमा लिफ्टसहितको चार तलाको अस्पताल निर्माण गरिएको छ । करिब आधा घन्टाकै दूरीमा छत्रकोट गाउँपालिकामा ठूलो भौतिक पूर्वाधारसहितको श्रृंगा प्राथमिक केन्द्र सञ्चालनमा छ भने सोही पालिकामै १३–१४ करोड लागतका १५ शय्याको अस्पताल निर्माण हुने बताइएको छ ।
श्रृंगाबाट पौने एक घन्टामा रुरु क्षेत्र गाउँपालिका– १ रिडी पुगिन्छ । रिडीमा ठूलो भौतिक पूर्वाधारसहितको रुरु प्राथमिक केन्द्र र साढे १४ करोडको १५ शय्याको अस्पताल निर्माण हुँदै छ । सत्यवती गाउँपालिका र धुर्कोट गाउँपालिकामा पनि पुराना प्राथमिक स्वास्थ्य केन्द्रहरू छन् । स्वास्थ्य केन्द्रहरूमा दरबन्दीअनुसारका जनशक्ति छैनन् । तर, १२ देखि १४ करोडमा अस्पतालका संरचना निर्माण भइरहेका छन् ।
जिल्लाका ११ पालिकामा निर्माण हुने १५ शय्याका अस्पताल दूरीका हिसाबले नजिक र धेरै लागतमा ठूला संरचना निर्माण गरिएकाले उपयोगमा स्थानीयले शंका व्यक्त गर्न थालेका छन् । सुशासन अभियान गुल्मीका सचिव तथा अधिवक्ता विनोद पाण्डेयले दक्ष जनशक्तिविनाको भौतिक पूर्वाधारको कुनै अर्थ नरहेको बताए । ‘सरकारको जोड पूर्वाधारमा बढी देखियो । स्वास्थ्यमा दक्ष जनशक्ति प्रमुख कुरा हो,’ उनले भने, ‘भवन उपयोगमा शंका देखियो ।’
जिल्लामा ५३ प्रतिशत दरबन्दी पदपूर्ति
स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यका अनुसार जिल्लाका रुरु, श्रृंगा, धुर्कोट र जुहाङ प्राथमिक केन्द्रमा स्थायी दरबन्दीका डाक्टर एकजना पनि छैनन् । डाक्टरसहितका थुप्रै स्वास्थ्य प्राविधिक करारकै भरमा छन् । जिल्लामा चार सय ६२ जना स्थायी दरबन्दीमा ५३ प्रतिशत पदपूर्ति भएको छ ।
५१ सालबाट निर्माण सुरु भएका स्वास्थ्यचौकी करिब तीन दशकसम्म धेरै बन्न बाँकी छन् । जनशक्ति व्यवस्थापन गरेर बर्थिङ सेन्टर सञ्चालन गर्न पालिकाहरूलाई चुनौती भइरहेका वेला १३ शय्या अस्पताल निकै चुनौतीपूर्ण रहेको स्वास्थ्य कार्यालय प्रमुख आचार्यले बताए । ‘स्वास्थ्यचौकी बनेका छैनन्, बर्थिङ सेन्टरदेखि अस्पतालमा जनशक्ति नभएर सेवाप्रवाहमा मुस्किल परिरहेको छ,’ उनले भने, ‘करोडौँका अस्पताल संरचना उपयोग गर्न तत्काल गाह्रो छ।’
मुसिकोट नगरपालिकामा पूर्वमेयर सोमनाथ सापकोटाले सरकारको नीतिका कारण पालिकाका १५ शय्याको अस्पताल प्रयोगविहीन बन्ने अवस्था आएको बताए । तराईको जनसंख्या र भूगोलका हिसाबले पालिका अस्पताल आवश्यक भए पनि पहाड र हिमालमा बसाइँसराइले गाउँ रित्तिएकाले पालिकैपिच्छेका अस्पतालको अर्थ नदेखिएको सापकोटाले बताए ।
दुई पालिकामा राम्रो भौतिक प्रगति
१५ शय्याको अस्पताल निर्माण हुने जिल्लाका ११ पालिकामध्ये तीन पालिकाको भवन निर्माण सन्तोषजनक देखिएको छ । गुल्मी दरबार गाउँपालिका, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाका अस्पतालको भौतिक प्रगति राम्रो देखिएको छ । तीन पालिकामध्ये गुल्मी दरबारले अस्पताल निर्माणमा सबैभन्दा राम्रो प्रगति गरेको छ ।
गुल्मी दरबार गाउँपालिका– ३ को झाँक्रीडाँडामा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ । बिकोई–अर्जुन–न्यु लिजा जेभीले १२ करोड ९४ लाखमा अस्पताल निर्माणको सम्झौता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए । उनका अनुसार ९५ प्रतिशत भौतिक प्रगति भएको छ । रङरोगन, लिफ्ट र फिनिसिङको काम मात्रै बाँकी रहेको उनले बताए ।
मुसिकोट नगरपालिका– ७ मा १५ शय्याको अस्पताल निर्माणको काम भइरहेको छ । खिम्ती–श्रेष्ठ–कालीगण्डकी जेभीले ११ करोड १० लाख २६ हजार एक सय आठ रुपैयाँको लागतमा अस्पताल निर्माणको काम गरिरहेको छ । भौतिक प्रगति ७० प्रतिशत भएको इन्जिनियर प्रकाश खनालले जानकारी दिए ।
त्यस्तै, चन्द्रकोट गाउँपालिकामा १३ करोड ६६ लाख ४४ हजार सात सय ३६ रुपैयाँमा तुल्सीभक्त–अर्जुन बिल्डर्स जेभीले ६० प्रतिशत भवन निर्माणको काम गरेको इन्जिनियर शिव बस्नेतले जानकारी दिए ।
तीन पालिकामा २५ देखि ४० प्रतिशत भौतिक प्रगति
कालीगण्डकी गाउँपालिकाका इन्जिनियर सत्यनारायण रायका अनुसार गाउँपालिका– ३ मा १५ शय्याको अस्पताल निर्माणको काम भइरहेको छ । १२ करोड ३७ लाख १९ हजार तीन सय २९ रुपैयाँको लागतका खिम्ती–श्रेष्ठ–अन्जना जेभीले अस्पताल निमार्णको सम्झौता गरेको डेढ वर्ष भयो । अहिलेसम्म २५ प्रतिशत भौतिक प्रगति भएको छ ।
सत्यवती गाउँपालिका– ६ जुहाङमा पनि १५ शय्याको अस्पताल निर्माण भइरहेको छ। १२ करोडको लागतमा आशिष निर्माण सेवाले अस्पताल निर्माणको काम गरिरहेको पालिका इन्जिनियर रमेश शाहीले जानकारी दिए । उनका अनुसार अहिले ४० प्रतिशत भौतिक प्रगति भएको छ । मदाने गाउँपालिकामा– पुर्कोटदहमा अस्पताल निर्माणको काम भइरहेको छ । हिमदुम–एसी निर्माण कम्पनीले १२ करोड ४८ लाखमा अस्पताल निर्माणको सम्झौता गरेको छ । अहिले ४० प्रतिशत भौतिक प्रगति भएको गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोख्रेलले बताए ।
सुस्त कामले स्थानीय निराश
इस्मा गाउँपालिका– ४ दोहलीस्थित गुरुङगाडेमा १५ शय्याको अस्पताल निर्माणको काम भइरहेको छ । १० करोड ८५ लाखमा सुनिल समीर निर्माण सेवा प्रालिले अस्पताल निर्माणको कामको सम्झौता गरेको छ । तर, डेढ वर्षसम्म फिल्ड सम्याउने काम पनि पूरा गरेको छैन । वडाध्यक्ष मानबहादुर बस्नेतका अनुसार अहिले कामदारहरू पनि निर्माण व्यवसायीले सामग्री पर्याप्त नदिएका कारण निर्माणस्थल छोडेर गएका छन् ।
धुर्कोट र रुरु क्षेत्र गाउँपालिकाले १५ शय्या अस्पताल निर्माणको काम भर्खरै सुरु गरेका छन् । सम्झौता गरेको एक वर्षभन्दा बढी भए पनि जग्गाको समस्याले निर्माण व्यवसायीले काम गरेका थिएनन् । धुर्कोट गाउँपालिका– ६ धुर्कोट राजस्थलमा १५ शय्याको अस्पताल निर्माणको काम भइरहेको छ । रविना–अर्जुन–न्यु लिजा जेभीले १३ करोडभन्दा बढीको लागतमा अस्पताल निर्माणको सम्झौता गरेको छ । भखैरै जग्गा व्यवस्थापन गरेर अस्पताल निर्माणको काम अगाडि बढेको धुर्कोट गाउँपालिका प्रमुख भूपाल पोख्रेलले बताए ।
त्यस्तै, त्यस्तै रुरु क्षेत्र गाउँपालिकामा १५ शय्याको अस्पताल वडा नम्बर १ को रातामाटामा निर्माण भइरहेको छ । गत वर्षको भदौमा अस्पताल निर्माणको काम प्रकृति–पिटिआर–अधिकारी–राजेश्वरी जेभी सन्धिखर्कले १४ करोड ४२ लाख ८२ हजार ६ सय ५९ रुपैयाँको लागतमा सम्झौता गरे पनि काम भएको थिएन। गाउँपालिका प्रमुख यदु ज्ञवालीका अनुसार महँगी र साइट क्लियर नभएको कारण देखाएर निर्माण व्यवसायीले काम गरेका थिएनन् । अहिले भने द्रुत गतिमा काम भएको ज्ञवालीले बताए ।
मालिका र छत्रकोटमा कामै भएन
जिल्लाको मालिका र छत्रकोट गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणको काम नै सुरु भएको छैन । छत्रकोट गाउँपालिका– ४ मा अस्पतालका लागि जग्गा प्रस्ताव गरेर तत्कालीन लुम्बिनी प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले शिलान्यास गरे । तर, अहिलेसम्म निर्माणको टुंगाे छैन । जग्गा अस्पतालको भवन निर्माणको लागि मापदण्डअनुसार नभएका कारण काम नभएको छत्रकोट गाउँपालिकाका इन्जिनियर पुस्कर खनालले जानकारी दिए ।
मालिका गाउँपालिका– ४ अर्खबाङमा १५ शय्याको अस्पताल निर्माण हुँदै छ । डेढ वर्षअघि ११ करोड ६७ लाखको लागतमा खड्का–सगुन जेभीले अस्पताल निर्माणको सम्झौता गरे पनि जग्गाको जोखिम देखाएका कारण प्रगति शून्य रहेको मालिका गाउँपालिकाका इन्जिनियर माधव पन्थीले बताए।