प्राकृतिक जलाशयमा पानी सुक्दै, चुनौती थपिँदै

आइतबार, २६ चैत, २०७९
डिजिटल संस्करण

सयौंँ वर्षदेखि उपयोग हुँदै आएका प्राकृतिक जलाशयमा बर्सेनि पानी सुक्दै जाँदा चुनौती थपिएको छ ।

पछिल्ला वर्षमा खानेपानीका लागि उपयोग गरिएका प्राकृतिक जलाशय कुवा तथा पँधेरामा पानी सुक्दै जाँदा चुनौती बढ्दै गएको हो । कास्कीको पोखरा महानगरपालिका– ३३ भरतपोखरीका खुर्वादी तथा कटुजेका पँधेरामा बर्सेनि पानीको मात्रा कम हुँदै गएको यहाँका स्थानीयवासी बताउँछन् ।

भएका कुवा तथा पँधेरा गाउँभन्दा धेरै तल हुँदा गाग्रीमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता लामो समयसम्म भोगेका यहाँका स्थानीयवासीलाई ०६७ सालपछि भने केही राहत भएको थियो । त्यसयता खुर्वादीको पँधेरोबाट लिफ्टिङ गरी गाउँमाथि हुँडिकोटमा पानी ट्यांकी राखेर घरघरमा वितरण गर्न थालेपछि स्थानीयवासीले ठूलै राहत महसुस गरेका थिए ।

पावनडाँडा छबिसे सामुदायिक वनमार्फत केही सहयोग एवं स्थानीयवासीको जनसहभागितामा यस क्षेत्रकै पहिलो लिफ्टिङ खानेपानी सञ्चालन गरिएको थियो । पछिल्ला वर्षमा पानी कम हुँदै जाँदा दैनिकी सञ्चालनमा पनि धौधौ पर्ने गरेको पावनडाँडा छबिसे सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष कमलप्रसाद पौडेलले बताए।

विगतमा भन्दा आधा नै पानी घटेको जानकारी दिँदै उनले उक्त पानीलाई एक सय ३१ घरधुरीले दैनिक रूपमा उपयोग गर्दै आएका बताए। पानी घटेसँगै स्थानीयवासीले त्यसको कारणबारे खोजी गरेको र त्यस क्रममा नजिकै केही पानीको स्रोत फेला परेपछि पाइपमार्फत मूल ट्यांकीमा मिसाइएको उनले जानकारी दिए।

बर्सेनि पानीको समस्या बढ्दै गएका अवस्थामा कृस्ती, निर्मलपोखरी, भरतपोखरी सहलगानी खानेपानी आयोजनाको काम पनि सुस्तगतिमा हुँदा थप चिन्तित बनाएको स्थानीयवासी बताउँछन् । उक्त आयोजनाका लागि चार–पाँच वर्षअघि नै प्रतिघर १५–१५ हजार रुपैयाँका दरले स्थानीयवासीले रकम बुझाएको भए पनि त्यसको काम सुस्त गतिमा बढेको उनीहरूको गुनासो छ ।

सुझावित समाचार