चीन–अमेरिका तनाव : हड्सन इन्स्टिच्युट, रेगन पुस्तकालय र अन्य संस्थाका पदाधिकारीमाथि प्रतिबन्ध

शुक्रबार, २४ चैत, २०७९
डिजिटल संस्करण

चीनले अमेरिकाको क्यालिफोर्निस्थित हड्सन इन्स्टिच्युट, रेगन पुस्तकालय र अन्य संस्थाका पदाधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ ।

ताइवानका राष्ट्रपति साई इङ वेन र अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीबीच गत बुधबार भेटवार्ताको चाँजोपाँजो मिलाएका ती संस्थाका पदाधिकारी चीनको कोपभाजनको सिकार भएका हुन् । चीनको चेतावनीलाई बेवास्ता गर्दै सभामुख म्याकार्थी र राष्ट्रपति साईले दक्षिण अमेरिकी मुलुकको भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा क्यालिफार्नियामा भेटवार्ता गरेका थिए। 

चिनियाँ विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी रेगन पुस्तकालय, हड्सन इन्स्टिच्युट र वासिंगन थिंक ट्यांकले ताइवान पृथकतावादी गतिविधिलाई बढावा दिएकाले ती संस्था र तिनका पदाधिकारीमाथि प्रतिबन्ध लगाइएको जनाएको छ । साथै मन्त्रालयले कुनै पनि चिनियाँ संस्था र तिनका पदाधिकारीलाई ती अमेरिकी संस्था र तिनका पदाधिकारीलाई सहयोग वा सम्पर्क गर्न निषेध गरेको छ । 

सन् १९४९ को गृहयुद्धपछि चीनबाट अलग भएको स्वतन्त्र टापु ताइवानलाई आफ्नो अविभाज्य भूमिका रूपमा दाबी गर्दै बेइजिङले आवश्यक परेमा बल प्रयोग गरेर मुख्यमूमिमा गाभ्न सक्ने बताउँदै आएको छ । ताइपेईसँग औपचारिक सम्बन्ध कायम नगरे पनि संयुक्त राज्य अमेरिकाले ताइवानसँग अनौपचारिक सम्बन्धलाई विभिन्न माध्यमबाट निरन्तरता दिइरहेको छ । 

गत वर्ष तत्कालीन सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेर चीन–अमेरिका सम्बन्धलाई जटिलतातर्फ धकेल्न मलजल गरिन् । चिनियाँ प्रविधि, सुरक्षा, हङकङ मामिला, मानव अधिकार, चीनका मुस्लिम जातीय अल्पसंख्यकप्रति बेइजिङको व्यवहारलाई लिएर कटु आलोचना गर्न नचुक्ने वासिंगटनका कारण चीन र अमेरिकाबीचको सम्बन्ध दिन प्रतिदिन तनावपूर्ण बन्दै गएको छ ।

चीनको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउने कुनै पनि गतिविधि सह्य नहुने दोहोर्याउँदै बेइजिङले ताइवानले कुनै पनि विदेशीसँग सम्बन्ध स्थापना एवं सञ्चालन गर्न नसक्ने बताउँदै आएको छ । बेइजिङको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न पाउँदैनन् ।

सन् १९७९ मा वासिंगटनले बेइजिङसँग कूटनीतिक सम्बन्ध स्थापना गरे पनि ताइपेईको अन्तर्राष्ट्रिय सहयोगी एवं साझेदारका रूपमा वासिंगटन उभिएको छ । अमेरिका नै ताइवानको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता पनि भएको छ । यस्तो पृष्ठभूमिमा रहेको ताइवान र अमेरिकाबीचको सम्बन्ध अनौपचारिक भए पनि औपचारिक सम्बन्धजत्तिकै महत्वपूर्ण एवं अर्थपूर्ण रहेको अमेरिका–ताइवान सम्बन्धबारे अध्ययन गरिरहेका जेम्स ली बताउँछन् । 

चीन सरकारले विदेशी अधिकारीहरूसँगको सम्पर्कले औपचारिक स्वतन्त्रता चाहने ताइवानीलाई प्रोत्साहन गर्ने बताउँदै त्यस्ता अवाञ्छित गतिविधिले युद्ध निम्त्याउने जनाएको छ । चिनियाँ प्रतिबन्धबारे पुस्तकालयका पदाधिकारीसँग इमेलमार्फत एएफपीले प्रतिक्रिया लिने प्रयास गर्दा बिहीबार रातिसम्म त्यसको जवाफ प्राप्त भएको छैन । 

क्यालिफोर्नियामा अमेरिकी सभामुखसँगको भेटवार्ताका अतिरिक्त ताइवानी राष्ट्रपतिले हड्सन इन्स्टिच्युटबाट ‘नेतृत्व पुरस्कार’ ग्रहण गर्दै क्षेत्रीय सुरक्षामा ताइवानका चुनौतीबारे भाषण दिएकी थिइन् ।

यसैबीच, चीनले आज पनि ताइवान नजिक युद्धपोत र युद्धविमान परिचालन गरेको छ । सभामुख म्याकार्थी र ताइवानी राष्ट्रपतिबीचको भेटबाट क्रूद्ध भएको चीनले हिजो पनि ताइवाननजिक युद्धपोत परिचालन गरेको थियो । तीनवटा चिनियाँ युद्धपोत, एउटा पनडुब्बी प्रतिरोधी हेलिकाेप्टर र एउटा लडाकु जेट ताइवान वरपरको जलक्षेत्रमा देखिएका ताइवानी रक्षा मन्त्रालयले पुष्टि गरेको छ । 

ताइवानी जनताको स्वतन्त्रता सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको राष्ट्रपति साईले लसएञ्जलसबाट ताइपेईतर्फ उड्नुअघि पत्रकारहरूलाई बताएकी थिइन्। उनले चीनको नाम नलिई दुवै पक्षबीच शान्ति र स्थायित्व कायम गर्न सक्दो प्रयास हुनेमा आफू आशावादी रहेको बताइन् ।

सुझावित समाचार