नगर कार्यपालिका बैठकमा वडाध्यक्षहरूको गुनासैगुनासो

शुक्रबार, २४ चैत, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको १४औँ नगर कार्यपालिकाको बैठकमा वडाध्यक्षहरूले गुनासा र काम गर्दाका अप्ठ्यारा पक्षबारे महानगर प्रमुख बालेन्द्र साहको ध्यानाकर्षण गराएका छन् । मेलम्ची खानेपानी आयोजना र विद्युत् प्राधिकरणको कामको अनुगमन गर्नुपर्ने, भुस्याहा कुकुर व्यवस्थापन गर्नुपर्ने, बाँदर र छाडा पशु चौपाया व्यवस्थापन गर्नुपर्नेबारे वडाध्यक्षहरूले प्रमुख साहको ध्यानाकर्षण गराएका हुन् ।

यस्तै, वडामा इन्जिनियर नभएको र महानगरले एक वडा, एक इन्जिनियरको मागसमेत उनीहरूले गरेका छन् । वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीले इन्जिनियर नभएका कारण समस्या भोग्नुपरेको गुनासो गरे । प्रमुखले प्राविधिक पठाउने, चिकित्सक राख्ने, स्वास्थ्य बिमालगायत कार्यक्रम ल्याए पनि कार्यान्वयनका लागि सहयोग नगरेको गुनासो गरे ।

‘पहिले हाम्रो वडामा एक सातामा एकपटक इन्जिनियर आउनुहुन्थ्यो, तर अहिले प्राविधिक आउनुहुन्छ, हाजिर गर्नुहुन्छ, तर काम देखिँदैन,’ उनले भने । यसबारे प्रमुख साहलाई जानकारी गराउँदा उनले ‘कन्सल्ट्यान्ड’ राख्न भनेको वडाध्यक्ष कार्कीले जानकारी दिए । कार्कीले पछिल्लो समय सबैजसो फुटपाथ र सडकमा प्राधिकरण र मेलम्चीले सडकमा अवरोध पु¥याएकाले यसबारे पनि चासो दिनुपर्ने धारणा राखे ।

उनले महानगरभित्र ढल, बाटो, फुटपाथ निर्माण गर्दा गुणस्तर नभएको भन्दै मेयर साहको ध्यानाकर्षणसमेत गराए । वडाध्यक्षहरूको प्रश्नको जवाफ दिँदै मेयर साहले आगामी वर्षदेखि महानगरले व्यवस्थित तरिकाले विकास निर्माणका काममा चासो दिने र प्राविधिक सहयोग गर्ने दाबी गरे । ‘वडा र महानगर एउटै हो, मात्रै हामीले जनताको घरनजिक पुगेर दिने सेवा फरक हो,’ उनले भने, ‘सबै वडाहरूलाई चाहिने सहयोग गर्छौँ ।’ 

काठमाडौं महानगरले जफत गरेका २७ लाखका विभिन्न सामान लिलामीका लागि प्रक्रिया अघि बढाइएको छ । एक सय वर्षदेखि नगर प्रहरीले फुटपाथ र सडक व्यापारीबाट बरामद गरेका सामान लिलामीका लागि टेन्डर आह्वानसमेत गरेको हो । महानगरको लिलाम समितिले टेन्डर प्रक्रिया सम्पन्न गरेपछि उक्त विषय बिहीबार महानगरको नगर कार्यपालिकाको बैठकमा पेससमेत गरेको छ । महानगरका मेयर बालेन्द्र साहले उक्त प्रस्ताव बुधबारको बैठकमा पास गरे । बरामद सामान लिलामीका लागि जानकी ट्रेड्सलाई ठेक्का दिइएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।

सुझावित समाचार