भ्युटावर निर्माणको बजेट यो वर्ष विनियोजन नगरौँ : सांसद छिरिङ

बिहिबार, २३ चैत, २०७९
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रकी सांसद छिरिङल्हामु लामा तामाङले सडक र स्वास्थ्य सेवासमेत नपुगेका स्थानीय तहमा भ्युटावर निर्माणका लागि बजेट रोक्नुपर्ने माग गरेकी छिन्। 

बिहीबार संसद्को विशेष समयमा बोल्दै सांसद तामाङले कतिपय विकट जिल्लाका सदरमुकाममा पुग्ने सडकसमेत नभएकाे भन्दै भ्युटावरका लागि बजेट नदिन माग गरेकी हुन्। 

‘कतिपय जिल्लामा अझै पनि सदरमुकाम जोड्ने बाटो नभएको र कतिपय ट्रयाक खुले पनि सडक राम्रो नभएका कारण मानवीय क्षतिसमेत भएका छन्,’ सांसद तामाङले भनिन्, ‘यस्तो अवस्थामा गाउँपालिका र सदरमुकाम पुग्ने भ्युटावर निर्माणको बजेट यो वर्ष विनियोजन नगरौँ।’ 

 सरकारको पूरै ध्यान र स्रोत लगानी जिल्ला सदरमुकाम र रणनीतिक उत्तर-दक्षिण जोड्ने बाटोमा मात्र गर्न माग गर्दै उनले यसअन्तर्गत जुम्ला मुगु नाग्चेलाग्ना सडकलाई समावेश गर्नुपर्ने बताइन्। 

सांसद तामाङले मुगु जिल्लामा सडक र स्वास्थ्यको सहज पहुँच पुर्याउन पनि सरकारसँग माग गरिन्। भरपर्दो स्वास्थ्य जाँचको व्यवस्था नहुँदा बिरामीले लाखौँ खर्च गरेर हेलिकोप्टरमा सहर धाउनुपरेको बताउँदै सांसद छिरिङले सडकको पहुँच नपुग्दासम्म विकट क्षेत्रका लागि एयर एम्बुलेन्सको व्यवस्था गर्न माग गरिन्। 

‘१० वर्षअघि ट्रयाक खुलेको नाग्मा - गमगढी सडक अहिलेसम्म राम्रो बन्न सकेको छैन। भरपर्दो स्वास्थ्य जाँच र सडकसमेत नहुँदा बिरामीले ७ लाखमा बिरामीलाई हेलिकोप्टर रिजर्भ गरेर सहरका अस्पतालमा पुर्याउँछन्। थाहा छैन ७ लाख तिरेर सहर देखेको बिरामी फेरि जन्मभूमि फर्कन पाउँछ कि पाउँदैन,’ उनले भनिन्। 

सुझावित समाचार